स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गतअसार महिनामा सम्पादित महत्वपूर्ण कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । शान्ति सुरक्षा अमनचयन, अपराध अनुसन्धान तथा नियन्त्रण र रचनात्मक कार्यमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीका अनुसार असार महिनामा जिल्लाभर कुल २७ वटा मुद्दा दर्ता भएका छन् । जसमा ३ वटा जघन्य तथा गम्भीर अपराध, ६ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, १ वटा आर्थिक अपराध र १७ वटा अन्य विधाका मुद्दा रहेका छन् । यी मुद्दाहरूमा संलग्न २१ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियान अन्तर्गत चोरी, लागूऔषध, सार्वजनिक र बहुविवाह मुद्दाका फरार प्रतिवादीहरू पक्राउ परेका छन् । उनीहरूबाट १ वर्ष ३ महिना २६ दिन कैद भुक्तान र ३ लाख २८ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । यस्तै, भन्सार छली तथा प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ २ लाख २ हजारभन्दा बढी मूल्यका मोटर पार्टस र ३ वटा ट्याक्टर नियन्त्रणमा लिई २३ हजार रुपैयाँ जरिवाना गरिएको छ । ट्राफिक चेकिङका क्रममा १ हजार ४ सय ९२ सवारी साधनलाई कारबाही गरी कुल १३ लाख ३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
गत असार १२ गते पुतलीबजार–२ दुर्गानगरबाट क्रसफायर मोटरसाइकल चोरी गर्ने पोखराका २३ वर्षीय दिपेश गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यस्तै, असार ३२ गते सिद्धार्थ राजमार्गको राम्दी चेकिङ टोलीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको यात्रुवाहक बसबाट पोखराका ४० वर्षीय नरेन्द्र आचार्य र ३४ वर्षीय सुरज प्याकुरेललाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थपेर कारबाही अगाडि बढाएको छ ।
वर्षातको समयमा जिल्लामा भएका २० वटा बाढीपहिरो, २ वटा आगलागी र १ वटा चट्याङका घटनामा २ सय ४२ जना प्रहरी कर्मचारी परिचालन भई उद्धार कार्यमा खटिएका थिए । विभिन्न विपदमा परी २ जनाले ज्यान गुमाएका छन् । यता महिनाभर हराएका ११ जना (५ महिला, ३ पुरुष र ३ बालबालिका) मध्ये ७ जनालाई प्रहरीले सकुशल फेला पारी परिवारको जिम्मा लगाएको छ भने बाँकी ४ जनाको खोजी कार्य जारी राखेको छ ।
प्रहरीले असार महिनामा मात्रै जिल्लाभर साइबर अपराध, बालविवाह, सडक सुरक्षा, लागूऔषध र आत्महत्या न्यूनीकरण लगायतका बिषयमा १४८ वटा समुदाय तथा विद्यालय केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गरेको छ । जसमा २ हजार ७ सय ४ जना नागरिक सहभागी भएका थिए । यसैगरी, स्याङ्जा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षा र सहजीकरणका लागि लिखित (नेपाली÷अंग्रेजी) तथा अडियो सहितको डिजिटल ‘क्युआर कोड’ निर्माण गरी सार्वजनिक गरिएको छ । सरकारी कार्यालयहरूमा बिचौलियामुक्त अभियान चलाउनुका साथै प्रहरी कर्मचारीको मनोबल बढाउन हाइकिङ, योग जस्ता क्रियाकलाप समेत सञ्चालन गरिएको विज्ञप्तिमा जनाइएको छ ।





