बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बीबीएका विद्यार्थी प्रभातले पाए १२ लाखको उद्यमी अनुदान

बीबीएका विद्यार्थी प्रभातले पाए १२ लाखको उद्यमी अनुदान

कुरिलाेकाे चिया उत्पादनमा खर्च गर्ने


  • ढाेरपाटन संवाददाता
  • साउन ७ २०८३, बिहिबार

पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी प्रभात आचार्यले विश्वविद्यालय अनुदान आयोगबाट १२ लाख रूपैयाँको बिना व्याज र बिना धितो उद्यमी अनुदान प्राप्त गरेका छन्।

आयोगले सञ्चालन गरेको उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत आचार्यले सो रकम प्राप्त गरेका हुन्। कलेजले बुधबार एक कार्यक्रमका बीच उक्त अनुदान रकम उनलाई हस्तान्तरण गरेको छ।

अनुदान रकम आचार्यले आफ्नो उद्यम योजना ‘कुरिलोको चिया’ उत्पादनमा प्रयोग गर्नेछन्। उनले आफ्नै ३ रोपनी जग्गामा कुरिलो खेती गर्ने योजना बनाएका छन्। साथै, अन्य कृषकहरूबाट समेत कुरिलो सङ्कलन गरी प्रसोधन गर्ने र विभिन्न औषधीय गुण भएको चिया उत्पादन गरी बिक्री गर्ने उनको लक्ष्य छ।

देशभरका ४०० भन्दा बढी सहभागीहरूमध्ये अन्तिम छनोटमा परी आचार्यले सो रकम प्राप्त गरेका हुन्। यो रकम ५ वर्षभित्र फिर्ता गर्ने गरी उपलब्ध गराइएको कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठले बताइन्। रकमको पहिलो किस्ता हस्तान्तरण गर्दै प्रिन्सिपल श्रेष्ठले आयोगको तालिम र कलेजको सहयोगबाट विद्यार्थीले यस्तो उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गरिन्।

कार्यक्रममा कलेज र विद्यार्थीबीच अनुदान रकमको सदुपयोग सम्बन्धी विविध विषयमा समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ। उक्त कार्यक्रममा हरिलो एग्रो प्रालिका प्रबन्ध निर्देशक प्रकाश आचार्य, कलेजका कार्यक्रम संयोजक हरि अधिकारी, विद्यार्थीका पिता प्रेमप्रसाद आचार्य तथा उप(प्राध्यापकहरू डा.अर्जुन सिग्देल, प्रदीप राणा र सुवास मल्लले आफ्ना धारणा राखेका थिए।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->