
रोल्पा/ रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्।
पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले नि:शुल्क पढाउने प्रतिवद्धता गरेका हुन् ।
अहिले सियाँ ३ वर्षकी छन् भने दुई मनजीता ५ र ६ वर्षका छन् । रुन्टीगढी गाउँपालिका-४ टोलबाङका उनीहरुलाई सुर्पाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा, नर्सरी, एलकेजी र एक कक्षामा अध्ययनरत छन् ।
उनीहरुलाई हाल पढेरहेकै विद्यालयले कक्षा-६ सम्म नि:शुल्क अध्ययन गर्ने व्यवस्था गरेको छ । कक्षा-७ देखि उच्च शिक्षासम्म भने रुन्टिगढी गाउँपालिकाले अध्ययन गराउने प्रतिबद्धता जनाएको छ ।

पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तेजबहादुर पुन र भिडियो खिच्ने लोकेन पुनलगायतका व्यक्ति ती बच्चाहरुको घरमा पुगेका थिए ।
तीनै बालिकाका बुवाहरू रोजगारीका सिलसिलामा विदेश रहेका छन् । दुई जना एकै घरका हुन् भने एक जना छिमेकी हुन् ।





