शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संस्कार सिकाउँदै बाल क्लब

संस्कार सिकाउँदै बाल क्लब

सूचना प्रविधिका आधुनिक उपकरणको प्रयोगबाट नराम्रा खबर तथा उपायको पहुँचमा पुग्ने, अभिभावक र शिक्षकहरुले सामान्य सम्झाउँदा पनि गलत रूपमा बुझ्ने बानीको विकास बालबालिकाहरूमा हुँदै गइरहेको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८३, सोमबार

पर्वत/केही महिनाअघि गुन्द्री बुन्न सिकेका बालबालिका बिहीबार सदरमुकाम कुश्मा बजारको प्रगति चोकमा थिए । उनीहरूका हातमा सेतो रङ, डोरी, ब्रसलगायतका सामग्री थिए । केही बेर भेलामा बसेर जीवनमा नैतिक शिक्षा र व्यवहारको बारेमा सुने । समाजप्रति नागरिकको उत्तरदायित्वको बारेमा पनि छलफल गरेका उनीहरूले समाजमा बालबालिकाले गर्न सक्ने योगदानको बारेमा जान्ने मौका पाए ।

भेला चलिरहेकै बेलामा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक प्रवीण भट्टराई लगायतका व्यक्तित्व आएपछि बालबालिका सडकमा निस्किए । ट्राफिक प्रहरीबाट ‘जेब्रा क्रसिङ’ले कसरी दुर्घटना न्यूनीकरणमा सहयोग गर्छ, पैदल यात्रुलाई सहज बनाउँछभन्ने कुरा सुनेपछि उनीहरू आफै कुश्माको प्रगतिचोकमा ‘जेब्रा क्रसिङ’ निर्माणमा लागे ।

ट्राफिक प्रहरीको समन्वयमा उनीहरू आफैं सेता पाटा बनाउन कस्सिए। अरूले गरेको कामको तुलनामा आफ्नै हातले गरेको कामको महत्त्व बढी हुने भएकाले आफूहरूले नै सडकमा रङ पोत्ने सुनाउँदा उनीहरूका अभिभावकहरू पनि मक्ख थिए । बालबालिकाहरूले सवारीको गति सीमित गर्ने सूचना लेखिएको ‘बोर्ड’ पनि सडकमा राखे ।

बालबालिकामा नैतिक शिक्षा र संस्कारको विकास गर्दै ‘डिजिटल’ लतलाई न्यूनीकरण गर्न स्थापित प्रगति संस्कार बाल क्लबको अगुवाइमा बालबालिकाहरूले यस्तै सामाजिक कामहरू गर्दै छन्। जिल्ला ट्राफिक कार्यालय र वडा कार्यालयसँगको समन्वयमा ‘जेब्रा क्रसिङ’ निर्माण गरिएको हो ।

‘स्मार्ट फोन’को लतमा परेर तथा नैतिक शिक्षाको अभावमा बालबालिकाहरूमा हराउँदै गएको संस्कारको संरक्षण गर्न क्लबले परम्परागत र आधुनिक सीप सिकाउने गरेको छ । उनीहरूलाई बेला बेलामा सामाजिक क्रियाकलापमा सहभागी गराउँदा कोठामा गुम्सिएर बस्दै ‘मोबाइल गेम’को लतमा रहनुभन्दा रचनात्मक हुने भएकाले क्लबले यस्तै कामहरू गर्दै आइरहेको क्लबकी संरक्षक तथा शिक्षक रश्मि गौतमले बताइन् ।

मौलिक कला, संस्कार, संस्कृति र परम्पराको रक्षा गर्न चार वर्ष अगाडिबाट सक्रिय रहेको क्लबले बालबालिकालाई मनोवैज्ञानिक रूपमा ऊर्जा दिने गरेको छ । ‘फेला पारे मोबाइलमा झुन्डिने अहिलेको अवस्थाबाट बाबुनानीलाई सुरक्षित राख्न क्लबका कामहरू निकै रचनात्मक छन् । उत्साह र सिकाइको रमाइलो वातावरणबिच उनीहरूले आपसी झगडा बिर्सिए, मोबाइलका गेम पनि बिर्सिए’, वडाध्यक्ष ईश्वर गिरी भन्छन्, ‘अहिले उनीहरूमा जस्तो धारणा बसाउन सकियो भोलि त्यही नै विकसित हुने हो । आज जस्तो संस्कार सिकाइन्छ भोली त्यही नतिजा पाइने हो ।’

२०७८ सालबाट बालबालिकाहरू विकास र उत्प्रेरणामा विभिन्न कामहरू गर्दै आएको क्लब २०८० सालमा कुश्मा नगरपालिकामा दर्ता भयो। क्लबमा कुश्मा बजारका विभिन्न विद्यालयका करिब ५० जना बालबालिका आबद्ध छन् । बालबालिकाको शारीरिक, मानसिक सहित सर्वाङ्गीण विकासका लागि क्लबले काम गरिरहेको संरक्षक गौतम बताउँछिन् । बालबालिकामा हराउँदै गएको संस्कार, सीप र मिलनसार भावनालाई जागृत बनाइराख्ने उद्देश्यले क्लबको स्थापना भएको हो ।

आफूले सोचेको सामान्य कुरा नै पूरा नहुँदा बालबालिका एकोहोरिने, गलत निर्णय लिने, सूचना प्रविधिका आधुनिक उपकरणको प्रयोगबाट नराम्रा खबर तथा उपायको पहुँचमा पुग्ने, अभिभावक र शिक्षकहरुले सामान्य सम्झाउँदा पनि गलत रूपमा बुझ्ने बानीको विकास बालबालिकाहरूमा हुँदै गइरहेको छ । यही प्रभावलाई कम गर्नका लागि क्लबको स्थापना गरिएको संरक्षक शिक्षक गौतम बताउँछिन् ।

क्लबमा आबद्ध बालबालिकाले बिहान सबेरै उठ्ने, नित्य कर्म गर्ने, बाबाआमा तथा हजुरबुबा हजुरआमाप्रति नमन गर्ने, आफ्ना लुगा आफै धुने, मोबाइल फोनलाई मनोरञ्जनको भन्दा पनि अध्ययन सहयोगी सामग्रीको रूपमा प्रयोग गर्ने, साथीहरूको सुख र दुखमा सँगै हुने, आफूले पाएको पैसा बचत गर्ने र समस्यामा परेको व्यक्ति भएमा सक्दो सहयोग गर्ने लगायतका धेरै असल अभ्यासहरू सिकिरहेका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->