पोखरा/गएको जेठ १० गतेबाट पोखराको मध्य भाग हुँदै बग्ने फिर्के खोलाको अतिक्रमित खोलाघरमा पोखरा महानगरपालिकाको डोजर चल्यो । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको सुकुम्बासी बस्तीमा चलाएको डोजरको कम्पनले पोखरा तात्तिदा अतिक्रमित फिर्केमा सुरुतावमा खोलाघरमा डोजर चलाउन थालियो ।
महानगरले एकै पटक ३ ठाउँबाट डोजर चलाएर अभियानको सुरुवात ग¥यो । पोखरा वडा नम्बर २ र १८ को सीमाना अँधेरीकुना, पोखरा वडा ४ र ५ को सिमाना फिर्केपुल (बुढानीलकण्ठ मन्दिर नजिक) र पोखरा ७ र ८ को सीमाना जिरो किलोमिटर स्थित लायन्स क्लबको भवनबाट डोजर चलाउन थालिएको थियो ।
अहिले महानगरको त्यो काम अलपत्र छाड्दा भत्किएका घरमात्र जोखिममा परेका छैनन् । खाली गरिएका र आधा भत्किएकै घरमा पुनः मान्छे बस्न थालेका छन् । कपडाको पर्दा, प्लाष्टिक र पालकै भरमा भत्किएको घरमा मान्छे बस्न थालेका हुन् । नागरिक अभियन्ता रामबहादुर पौडेल जनप्रतिनिधिको निरिहताका कारण फिर्के खोला करिडोर अभियान नै असफल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् ।
फिर्के बचाउ अभियान हुँदै फिर्के–बुलौदी खोला वृहत सफाइ अभियान चलाउँदै आएका पौडेलले खोलाघर पूर्ण रुपमा नहटाउनुको पछाडि केही रहस्य भएको जनाए । ‘महानगरपालिकाले अहिले के प्रतिवेदन देखाइरहेको छ, थाहा छैन यहाँ वास्तविकता र यथार्थ फरक देखिएको छ,’ उनी भन्छन्, ‘अहिले भत्काएकै घरमा मानिस बस्न थाले । भोलि ठूलो बाढी वा भूकम्प आए के होला ?’ राज्यले नागरिकको ज्यान जोखिममा पार्ने काम गरेको उनको भनाइ छ ।
पोखरा महानगरपालिकाले घर वा जग्गाधानीले खोलाघर आफैं नहटाए महानगरपालिकाले हटाउने र त्यसमा लागेको खर्च घरधनीले तिर्नुपर्ने सूचना जारी गरेको थियो । त्यो सूचना व्यवहारमा लागू नभएको देखिएको छ । पौडेल फिर्के करिडोर पूर्ण रुपमा खाली गर्नुपर्नेमा जोड दिन्छन् । ‘महानगरले जे भनिरहेको छ, कथनी र कणनीमा फरक भनेको यही हो’, पौडेल भन्छन्, ‘यहाँ चार वटा वडा पर्छन् । ती वडाका प्रतिनिधिले भत्काउँदै गर्दा अब आफैं भत्काउँछन् भनेर जोख्याउने काम भयो । यो गलत काम हो ।’

पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल फिर्के खोलाघरमा वडा ८ मा सबै खाली भएको दाबी गर्छन् । उनी खोलाघरबाट दुवैतर्फ ६ मिटर मापदण्ड कायम गर्ने योजना सुनाउँछन् । ‘वडा ८ मा खोलाघरमा रहेका संरचना हटिसकेका छन् । अब करिडोर निर्माणका लागि ६ मिटरभित्र पर्ने संरचनालाई मुआब्जा दिने महानगरको योजना छ’, उनले भने । वडा ८ भित्रका विभिन्न ९ संरचना पूर्ण रुपमा नहटाइएको अभियन्ता पौडेल औंल्याउँछन् ।
महानगरपालिकाको रेकर्ड अनुसार फिर्केका १ सय ६० खोलाघरका संरचनामा डोजर चलाइएको छ । १ सय ६० मध्ये ५८ वटा संरचना अझै पूर्ण रुपमा भत्काउन बाँकी रहेको छ । ती बाहेकका अरु संरचना भत्काइएको महानगरका सुरक्षा नगर निरीक्षण शाखा प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए । २९ वटा संरचना पूर्ण रुपमा घरधनी आफैँले भत्काउन सुरु गरिसकेका छन् । २२ वटा संरचनामा कुनै काम भएको छैन ।
२५ वटा स्थायी र २६ वटा अस्थायी संरचनासमेत हटाउन बाँकी रहेका छन् । ‘हामीले फिर्के खोलाका १ सय ६० वटा संरचनामा डोजर चलाएका हौं । कतिपय अवस्थामा डोजर जानै नसक्ने भएकाले भत्काउन सकिएन,’ थापाले भने, ‘डोजर चलाएपश्चात फेरि अनुगमनसमेत ग¥यौं । दुई हप्ताअघि मात्रै अनुगमन गरेर एक हप्तामा संरचना खाली गराउन भनेका हौं ।’ बर्खा भएकाले स्थानीयले एक हप्तामा नसक्ने बताएको उनले सुनाए ।
महानगरले २०८० साउन–भदौमा फिर्के खोलाको नापजाँच गरी ५ सय ८८ वटा सीमा स्तम्भ गाडेको थियो । नापजाँचका क्रममा खोला क्षेत्रभित्र सार्वजनिक जमिन मिचेर १ सय ६० भन्दा बढी स्थायी तथा अस्थायी संरचना बनेको पाइएको थियो । महानगरले फिर्के खोलाको सीमांकन (दायाँबायाँ ६÷६ मिटर छोड्नुपर्ने मापदण्ड) कार्यान्वयन गर्न र खोला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन यो अभियान चलाएको हो । २०८० साउन ३ गते वासुदेव पौडेलको नेतृत्वमा ३२ दिन लगाएर फिर्केको मुहानदेखि अन्तिम बिन्दुसम्म खोलाको सर्भेक्षण गरिएको थियो ।
पोखरा–१८, सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएको फिर्केखोला प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर–१८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडाइमा फैलिएको छ । मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केहीमाथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ । त्यसपछि एक किलोमिटरमा यो फेवातालमा मिसिन्छ ।





