स्याङ्जा/स्याङ्जाको चापाकोट–८ दामाचौरर पाल्पाको रामपुर–६ जोड्ने ट्रस पुल बनेको छ । गण्डकी प्रदेश हुँदै चीन र भारतसँग सीधा सम्पर्क जोड्ने दामाचौर कालीगण्डकी मोटरेबल ट्रस पुल ३ वर्षमा काम सक्ने गरी सम्झौता भएकोमा १५ वर्षमा निर्माण सकिएको हो ।
२०६८ असार २६ गते एमएस इलाइट एसबिए जेबी कपन काठमाडौले १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपैयाँमा पुल निर्माण सम्झौता गरेको थियो । ३ स्पानमा १ सय ८१ दशमलव ६९ मिटर लम्बाई र ११ मिटर चौडा यो पुल वेल फाउन्डेसन डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट इलाइटले काम थालेको थियो ।
२ किनारमा पिल्लर राखेर नदीको मध्य भागमा पिल्लर बनाउने क्रममा डिजाइन अनुसार काम अगाडि नबढेपछि पुल निर्माण रोकिएको थियो । डिजाइन अनुसार वेल १५/१५ मिटर जमिनमुनि दब्नुपर्नेमा ५ मिटर जमिनमुनि चट्टान भेटिएपछि निर्माण कम्पनीले काम रोकेको थियो ।
डिजाइन फेल भएपछि पुल महाशाखाले ०७८ मा डिजाइन परिवर्तन गरी वेल फाउन्डेसको ठाउँमा पाएल फाउन्डेसनमा पुल निर्माणको जिम्मा इलाइटलाई नै दिएको थियो । सम्झौताको १० वर्षपछि पुल महाशाखाले डिजाइन फेरेपछि काम अघि बढेको थियो ।
पुल निर्माणका लागि सडक डिभिजनसँग निर्माण कम्पनीले पाएको आँठौ पटकको म्याद साउन ३० गतेसम्म छ । अहिले निर्माण सकिएको सडक डिभिजन पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यले बताए । डिजाइन फेल भई नयाँ डिजाइन बनाएर काम गर्नुपर्दा राज्यले २२.०५ प्रतिशत लागत थप्नुपरेको छ ।
३ वर्षमा सक्ने काम १५ वर्ष पुग्दा भ्याटसहित २१ करोड ६२ लाख ६१ हजार ३ सय ६८ लागत पुगेको छ । डिजाइन फेल हुँदा निर्माण कम्पनीले ७ करोड क्षति व्यहोरेको निर्माण कम्पनीका प्रतिनिधि श्याम केसीले दाबी गरे । पुल निर्माणसँगै भारतबाट ज्याग्दी खोला करिडोर हँुदै आँधीखोला करिडोर, पर्वत, मुक्तिनाथ हँुदै चीन पुग्न सकिन्छ ।





