स्याङ्जा/स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ९ चितडाँडाका ५५ वर्षीय परशुराम खनालले शिक्षक पेसा छाडेर व्यावसायिक कागती खेती थालेका छन् ।
जागिर खाने अवधि १० वर्ष बाँकी रहदै ३० वर्षे प्रावि तहको स्थायी शैक्षिक सेवा पाँच वर्षअभि नै छाडेर उनी खेतीपातीमा लागेका हुन् । खनालसहित सात जना मिलेर पाँच सय रोपनी बाँझो जग्गा खरिद गरेर साउथ एसियन मल्टी एग्रो फार्म दर्ता गरेका थिए । पहिले समूहमा सुन कागती खेती थालिए पनि अहिले उनको एकल स्वामित्व छ ।
खनालले २ सय २० रोपनीमा ५ हजार ५ सय कागतीका बिरुवा लगाएका छन् भने यस आर्थिक वर्षमा थप ३ सय रोपनीमा कागती बिरुवा रोप्ने तयारी गरेका छन् । परम्परागत खेती गर्दा जंगली जनावरबाट जोगाउन निकै सकस हुन थालेपछि विकल्पका रुपमा अन्य खेती खोज्दा कागती विकल्प बनेको हो ।
परम्परागत खेतीको तुलनामा सजिलो, छोटो समयमै उत्पादन दिने र बाँझो जमिनको समेत सदुपयोग हुने भएपछि कागती खेती रोजेको खनालको भनाइ छ । बाँझो जमिनमा कागती खेती गर्दा एकातिर आम्दानी र अर्कोतिर बाँदर लगायतका जंगली जनावरको आतंकबाट पनि मुक्ति मिलेको उनले सुनाए । उनले हालसम्म कागती खेतीमा ४० लाख खर्च भएको बताउँदै यो आर्थिक वर्षबाट आम्दानी दिन थालेको जनाए ।
खनालले पाँच सय रोपनीमा फलेपछि भने पाँच लाख मासिक आम्दानी हुने उल्लेख गरे ।
सुन कागती–१ बाह्ै महिना फल्ने कागती भएपनि छ महिना राम्रो फल्ने गर्दछ भने अरु छ महिना अलिअलि पल्ने गर्दछ । कागती खेतीसँगै बिच बिचमा खुर्सानी, काउली लगायतका तरकारी खेती खनालले गरेका छन् । उनले १० जनालाई रोजगराीसमेत दिएका छन् ।
यो आर्थिक वर्षमा आम्दानीले खर्च धानेको जनाउँदै खनालले आम्दानी पूर्ण रुपमा लिन केही समय लाग्ने बताए । स्याङ्जामा अहिले ४ सय ५२ हेक्टर क्षेत्रफलमा कागती खेती हुँदै आएको छ भने २ सय २५ हेक्टर क्षेत्रफलमा नयाँ बिरुवाहरू हुर्कँदै गरेको कृषि विकास कार्याय स्याङ्जाले जनाएको छ ।





