बागलुङ/स्थानीयले आफ्नो क्षेत्रको राजस्व विकास निर्माणमा खर्च होस् भन्ने चाहना राख्छन्, तर ढोरपाटन सिकार आरक्षले बर्सेनि करोडौं रकम केन्द्रमा पठाउँछ । आरक्ष मध्यवर्ती क्षेत्र घोषणाको काम अगाडि बढ्न नसक्दा स्थानीय सरकार र यहाँको समुदायले प्रत्यक्ष लाभ लिन सकेको छैन ।
स्थापना भएको ४३ वर्ष बितिसक्दा पनि राजनीतिक अगुवा र आरक्षको जुहारीले मध्यवर्ती बन्न नसक्दा स्थानीयले त्यसको लाभ लिन नसकेका हुन् । एकातर्फ ढोरपाटनमा चोरी, सिकार बढेको दाबी छ । स्थानीय भने चरिचरन मासिएको, थातथलोमा परम्परादेखिका काम गर्न रोक लगाइएको आरोप लगाउँछन् ।
मध्यवर्ती बनाउन आरक्षले स्थानीय पालिका, जनप्रतिनिधि, आरक्ष आसपासका स्थानीयसँग चरणवद्ध छलफल गरे पनि अहिलेसम्म निस्कर्ष निस्केको छैन । मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ हुँदा यहाँका विभिन्न स्रोतबाट बर्सेनि उठ्ने राजस्व संघमै जाने गरेको छ ।
मध्यवर्ती बनेको खण्डमा ५० प्रतिशतसम्म आम्दानी स्थानीय विकासमा खर्चन पाउने प्रावधान छ । मध्यवर्ती क्षेत्र घोषणाका लागि बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका तथा रुकुमको पृथुउत्तरगंगा र म्याग्दीको धौलागिरि गाउँपालिकाको कार्यपालिकाले निर्णय गर्नुपर्छ । उनीहरुल्े यो बजेटले ढोरपाटन क्षेत्रमा सडक, पुल र पदमार्ग निर्माण तथा सामुदायिक सीप विकासका काममा खर्चन पाउँछन् ।
आरक्षमा आउने सिकारीले तिर्ने राजस्व, उत्तरगंगा लगायतका खोला तथा नदीजन्य वस्तुको उत्खनन्, काठपात बिक्री र दण्ड, जरिवानाबाट संकलित रकम समेत स्थानीयले उपभोग गर्न नपाएका हुन् । ती पालिकाका प्रमुख, उपप्रमुख सहितको पटक पटकको बसाइ भए पनि निष्कर्ष ननिस्केको हो ।
चोरी, सिकारीबाट असुल्ने दण्ड, जरिवाना समेत अहिले केन्द्रीय सरकारको राजस्वमा जाने गरेको छ । ‘आरक्षको फाइदा आम नागरिकले पाउनु पर्छ भनेर बेला बेला छलफल त भइरहन्छ, तर निष्कर्ष आएको छैन’, आरक्षका रेन्जर सागर सुवेदीले भने, ‘यसको प्रक्रियामा कोही पनि जान खोजेको देखिएन ।’ मध्यवर्तीबाट पाउने फाइदाबारे बुझाउन नसक्दा ढिलाइ भएको उनी बताउँछन् ।
जथाभावी संरचना बनाउन आरक्षले रोक लगाउँदा स्थानीय भने थातथलोमा काम गर्न नपाएको टिप्पणी गर्छन् । बागलुङको निसेलढोर, रुकुमको तकसेरा, गाडीखोला छेन्टुङ हुँदै म्याग्दीको गुर्जा तर्फका सडकसमेत सोही कारण देखाएर स्तरीय बनेका छैनन् । उत्तरगंगाको बालुवा उत्खनन् गर्न पनि नपाएपछि कतिपय विकास, निर्माणको काम गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।
मध्यवर्ती क्षेत्र घोषण भएमा हाल आरक्षले बेच्दै आएको निर्माण सामाग्रीको पनि स्थानीयले उपयोग गर्न पाउने आरक्षका कर्मचारीहरु बताउँछन् । तर सहकार्य अभाव र बुझाइमा समस्या भएको उनीहरुको टिप्पणी छ ।
अहिले ढोरपाटन क्षेत्रमा वर्षमा ३० हजार हाराहारी पर्यटक जान्छन् । मध्यबर्ती क्षेत्र बनाएमा आरक्ष आसपासमा होमस्टे, होटल तथा रेष्टुरेन्ट संचालन गर्ने, पर्यटन प्रवद्र्धनका अन्य गतिविधि सञ्चालन तथा पदमार्ग निर्माण गरेर पर्यटक भित्राउने काम समेत स्थानीयले गर्न सक्ने छन् । केही वर्षअघि स्थानीय पूर्णबहादुर घर्तीको संयोजकत्वमा ढोरपाटन सिकार आरक्ष पीडित संघर्ष समिति बनाएर मध्यवर्तीको विरोध भएपछि अहिलेसम्म स्थानीय एकमत भएर आउन नसकेपछि आरक्षले पनि संवाद गर्न नसकेको हो ।
उनीहरुले सेना ल्याउन नदिने, मध्यवर्ती क्षेत्र घोषणा गर्न नदिने भन्दै आन्दोलन गरेका थिए । स्थानीयले अन्तर्राष्ट्रिय श्रम संगठन ‘आइएलओ महासन्धि १६९’ विरुद्ध भएको भन्दै विरोध गरेका थिए । सरकारले २०३९ चैतमा सिकार आरक्ष स्थापना गरी १ हजार ३ सय २५ वर्ग किमीलाई संरक्षित क्षेत्र तोकेको थियो ।





