शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

पर्वतमा डेंगु रोक्न अभियान

पर्वतमा डेंगु रोक्न अभियान


  • ढाेरपाटन संवाददाता
  • भाद्र ४ २०८३, बिहिबार

पर्वत/डेंगु संक्रमण बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ । वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित जोखिम क्षेत्र पहिचान गरी पानी हटाउने तथा सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, पर्वतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको संयोजकत्वमा अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत कुश्मा नगरपालिका–७, खरिया क्षेत्रका विभिन्न ग्यारेज, किराना पसल तथा कुश्मा बजारका अन्य सम्भावित जोखिमयुक्त स्थानमा सरसफाइ गरिएको छ ।

सुरक्षाकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिले घर तथा पसलवरपर जमेको पानी हटाउने, पानी जम्न सक्ने भाँडाकुँडा, टायर, बोतल, बाल्टिन लगायत हटाउने, लामखुट्टेको सम्भावित प्रजनन स्थल नष्ट गर्ने गरेका थिए । कुश्माको शिवालय चोकदेखि खरेहासम्म पुगेर अभियान सकिएको छ ।

वर्षापछि गमला, पुराना टायर, बोतल, बाल्टिन, छत, कुलर लगायतका स्थानमा पानी जम्दा एडिस लामखुट्टेका लागि प्रजनन स्थल बन्न सक्छ । तातो तथा ओसिलो मौसम पनि लामखुट्टेको वृद्धि र गतिविधिका लागि अनुकूल हुने भएकाले वर्षा याममा डेंगुको जोखिम बढी हुने गर्दछ । डेंगु संक्रमितलाई एडिस लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोक्दा डेंगु भाइरस सर्न सक्छ ।

घना बस्ती, सरसफाइको कमी र घर वरिपरि थोरै मात्रामा पानी जम्ने अवस्थाले पनि सङ्क्रमण फैलिने जोखिम बढाउने चिकित्सकहरू बताउँछन् । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेल डेंगु सार्ने एडिस लामखुट्टे प्रायः दिनमा, विशेष गरी बिहान र साँझतिर बढी सक्रिय हुन्छ । त्यसैले राति मात्र लामखुट्टेको टोकाइबाट जोगिनु पर्याप्त हुँदैन ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका सूचना अधिकारी सुमन शर्मा यो वर्ष पर्वतमा हालसम्म डेंगुका २७ नयाँ बिरामी भेटिएको बताउँछन् । तीमध्ये १२ जना निको भएका छन् भने १४ जना घरमै उपचाररत छन् । एक जना अस्पतालमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->