पोखरा / नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले विस्फोट गर्नेसम्मको प्रयास अघि बढाएका छन्।
उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली अहोरात्र खटिएको छ।
यसअघि आइतबार दिउँसो २ बजे उद्धार टोलीले सुरङको मुख्य भाग (क्राउन हेडु) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। त्यसपछि डोरीको सहायताले (र्यापेल गरेर) टोली तल झरेर बोलाउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धार कार्यलाई थप सहज र तीव्र बनाउने रणनीति अपनाइएको हो।
अहिले घटनास्थलमा ठूला उपकरणको प्रयोग, विस्फोट तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ। अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद सुरक्षाकर्मीको टोली सुरङभित्र फसेकाहरूको सुरक्षित उद्धारका लागि निरन्तर खटिरहेको छ।





