पोखरा/ कास्कीका तीन उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदकद्वारा सम्मान गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको ३६औं महाधिवेशन तथा ७२औं साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर र स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई शनिबार पदक र नगदसहित सम्मान गरिएको हो।
लक्ष्मी विद्या पदक–२०८२ बाट स्नातकोत्तर (एमबिए) तर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ सम्मानित भइन् । स्नातक (बिबिए) तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना र स्नातक (बिबिएस) तर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उनीहरुलाई पदक र पुरस्कार वितरण गरे। स्नातकोत्तर तहमा उत्कृष्ट हुनेलाई २५ हजार र स्नातक तहमा उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
शिक्षासेवी एवं पदक सञ्चालन समितिका सदस्य अमृतलाल श्रेष्ठले हालसम्म ७६ विद्यार्थी यो पदकबाट सम्मानित भइसकेको जानकारी दिए। पदक पाउने विद्यार्थीहरु हाल देश तथा विदेशका प्रतिष्ठित संघ संस्था र सरकारी एवं निजी क्षेत्रमा उच्च ओहोदामा कार्यरत रहेको उनको भनाई छ ।





