शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

महामारी नियन्त्रण र खोपमा सफलता

महामारी नियन्त्रण र खोपमा सफलता


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८३, शुक्रबार

बागलुङ/गत वर्ष बागलुङलाई पूर्ण खोपयुक्त जिल्लाको अद्यावधिक बनायो । त्यो त नियमित काम थियो । त्यस बाहेक महामारीको रुपमा ढोरपाटनमा दादुरा संक्रमण फैलियो । त्यो पनि प्रदेश जनस्वास्थ्य कार्यालयले तत्काल विज्ञ टोली र अन्य दाता संस्था खोजेर नियन्त्रणमा लियो ।

त्यतिमात्र होइन, भैपरी आउने धेरै अभियान, डेंगी समस्या समाधान, सचेतनाका कार्यृक्रम र आमा सुरक्षाका क्रियाकलाप समेत नियमित भैरहेका छन् । खानेपानीको मुहानमा भएको समस्या पत्ता लगाएर शुद्दिकरण अभियानमा अगुवाई जस्ता दर्जनौं कार्यक्रम गरेर कार्यालयले दायित्व त पुरा गरेकै छ । त्यस बाहेक आगामी दिनमा पनि यो तथ्यांकलाई अद्यावधिक गर्न पहल गरेको छ ।

स्वास्थ्य क्षेत्रमा एक पटक राम्रो नतिजा ल्याएर मात्र पुग्दैन । त्यसका लागि निरन्तरता आवस्यक छ । कार्यालयले गत वर्षको कार्यक्रमको पालिका तहसम्मको समीक्षा गरेर चालु वर्षका लागि पनि योजना, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नियमित बाहेक आकस्मिक कार्यक्रम र खोप अभियानलाई प्रभावकारी बनाउन पहल भएको कार्यालयका प्रमुख प्रविण शर्माले बताए ।

त्यस बाहेक खोपलाई प्राथमिकता दिएर काम गरिएको उनको भनाइ छ । यसरी काम गर्दा खोप अभियानमा धेरै लगानी आवस्यक पर्ने, त्यसबाट लाखौंको औषधी खेर पनि जाने भएको छ । तर पनि राज्यले बनाएका प्रोटोकल अनुसार काम गरिरहेको उनले जानकारी दिए । झट्ट हेर्दा स्वास्थ्य कार्यालयले धेरै मूल्यको औषधी खेर फालेको देखिन्छ । तर पूर्ण र अनिवार्य खोप लगाउने कार्य पुरा गर्दा खोलेका बट्टा उपयोगविहिन बन्दा लाखौंको औषधी खेर जाने गरेको छ । गत वर्ष पनि झण्डै ४८ लाख बराबरको औषधी खेर गएको तर सबै बालबालिकालाई अनिवार्य खोप अभियानमा जोड्न सकिएको उनले बताए ।

क्षयरोग लगायतका संक्रमणबाट बचाउन लगाइने बिसिजी खोपको औषधी मात्रै एक सानो बट्टामा २० जनाका लागि पुग्ने गरी आएको हुन्छ । तर एक पटक खोलेपछि ६ घण्टा मात्र प्रयोग गर्न सकिन्छ । एक जनालाई मात्र लगाएपनि ६ घण्टाभित्र प्रयोगमा नआए बाँकी खेर जान्छ । त्यो तथ्यांकसहित कार्यालयले वास्तविकता सार्वजनिक गरेको छ ।

ग्रामीण क्षेत्रमा एक जना बालबालिकाको लागि समेत यसरी खोप प्रयोग गर्दा अरु खोप खेर जाने गरेको छ । सरकारले १९ डोज खेर गएपनि एक शिशुका लागि अनिवार्य खोप लगाउने प्रावधान नै बनाएको छ ।

यस्तो अवस्था बजार क्षेत्रमा केही कम भएपनि गाउँमा अत्याधिक छ । भौगोलिक रुपमा टाढा भएकोले खोप केन्द्र धेरै चाहिन्छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार, खोप केन्द्रहरु एकीकृत नगरेमा हरेक केन्द्रबाट लाखौं मूल्यको औषधी खेर जाने गरेको हो ।

औषधी जोगाउने नाउँमा बालबालिकालाई खोप नलगाउन भने पार्ईदैन । ‘नेपाल सरकारले नै हरेक बालबालिकालाई अनिवार्य खोप लगाउनुपर्ने प्रोटोकल बनाएको छ, त्यो पालना गर्नै पर्छ’ खत्रीले भने, ‘खेर गएपनि जोगाउने नाउँमा बालबालिकालाई खोपबाट बञ्चित गराउन नपाइने प्रावधान छ ।’ गत असार मसान्तमा पुर्ण खोपयुक्त पालिका घोषणा गरेर अद्यावधिक समेत गर्ने क्रम केही वर्षदेखि संचालन भैरहेको छ ।

सरकारी लक्ष्य पुरा गरेपनि त्यसबाट लाखौको औषधी भने खेर गैरहेको छ । कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार, गत आर्थिक बर्ष २०८२÷०८३ मा जिल्लामा ४८ लाख रुपैयाँ बराबरको खोपको औषधी खेर गएको थियो । गण्डकी प्रदेशभर यो खेर जाने मूल्यमा हेर्दा साँढे २ करोड बढीको छ । यो अवस्था कम गर्न खोप केन्द्र मर्ज गर्ने, एकैपटकमा धेरै बालबालिका जम्मा गरेर मात्र खोप लगाउन सकिने शर्माले बताए । त्यसका लागि सबै अभिभावकहरुले साथ दिनुपर्नेछ ।

नियमित खोप लगाउने समय अनुसार जिल्लाभित्र २ सय ५ वटा खोप केन्द्र छन् । खेर जाने औषधी कम गर्न कार्यालयले १० केन्द्र भने गत वर्षको अनुभवबाट मर्ज गरेको छ । अब भने १ सय ९५ केन्द्रबाट खोप लगाइने छ । सहरी क्षेत्रका कतिपय केन्द्र अझै मर्ज गरेर जनशक्ती परिचालन बढाउन सकियो भने उक्त खेर गएको औषधी बचाउन सकिने समेत अध्ययन भएको शर्माले जानकारी दिए । गत असारसम्म बागलुङका १४ हजार २ सय ५७ जना बालबालिकालाई आवस्यक पर्ने सबै खोप लगाएर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता र दिगोपना भएको घोषणा गरिएको थियो ।

पछिल्लो चार वर्षदेखि यो क्रमले निरन्तरता पनि पाएको छ । शर्माका अनुसार, जन्मेदेखि १५ महिना भित्रका ३ हजार २ सय ७८ जना र १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ बालबालिकाले खोप पाएका थिए । यो खोप लगाउने उमेर समूहमा रहेका सबै बालबालिकाले पाएको अवस्था हो । त्यस बाहेक विद्यालय उमेरका किशोरीलाई पाठेघरको क्यान्सर विरुद्वको खोप समेत नियमित रुपमा लगाउन थालिएको छ । गत वर्षको फागुनमा ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण देखिएपछि कार्यालयले १८ वर्ष सम्मका बालबालिकालाई ७ हजार खोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->