शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

भोटेकोशीको बाढी र विपद उत्थानशील विकास

भोटेकोशीको बाढी र विपद उत्थानशील विकास

भोटेकोशीको विपदलाई हेर्दा हामीले विपद सम्भाव्य स्थान पहिचान नै गर्न नसकेको देखिन्छ


  • कुलराज सुवेदी
  • भाद्र २७ २०८३, शनिबार

गएको भदौ १० गते म गोसाइकुण्डको यात्रामा निस्कदै थिए । प्रधानमन्त्री कार्यालय हेल्लो सरकार शाखामा मेरो बिहानी सिफ्टको ड्युटी थियो । ड्युटी सकेर १२ बजेतिर अफिसबाट निस्कने योजनाले म बिहानै ट्रेकिङ बुट लगाएर ब्याकप्याकसमेत बोकेर बुवा–आमासँग बिदाबादी भई घरबाट निस्केको थिएँ । बुटवलबाट मामा–माइजू र अन्य आफन्तसमेत रात्रि बसमा आएर त्रिशूली बजारमा मेरो भाइ बुहारीको अफिस रहेको मत्स्य विकास केन्द्रको अतिथि गृहमा बस्नुभएको थियो । म काठमाडौंबाट त्रिशूली पुगेपछि सबै जना सँगै निस्कने योजना थियो ।

हेल्लो सरकार शाखामा काम गर्दै गर्दा अन्दाजी ९ः१५ तिर रसुवाका एक स्थानीयले भोटेकोशीमा ठूलो बाढी आएको जानकारी दिए । उनले यो बाढी कल्पना गरेभन्दा अत्यधिक ठूलो रहेकाले सरकारले उद्धारका लागि तत्काल तयारी गर्नुपर्ने बताए । मैले यो खबर तुरुन्त शाखा प्रमुख उपसचिव कृष्ण सापकोटालाई दिए । उहाँले तत्कालै मुख्यसचिवलाई फोन गरेर जानकारी गराउनुभयो ।

त्यस बेलासम्म मुख्यसचिवलाई कतैबाट जानकारी आएको रहेनछ । मेरो सूचना नै जानकारीका पहिलो आधार हुन पुगेकोमा खुसि पनि लाग्यो । त्यति बेलासम्म पनि हामीलाई यो बाढी गत सालको जत्तिकै स्केलको होला भन्ने लागेको थियो । गत साल पनि भोटेकोशीमा बाढी आएर मितेरी पुल बगाएको थियो भने टिमुरे आसपासको क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको थियो ।

त्यति बेला झण्डै २ दर्जन नागरिकले ज्यान गुमाएका थिए । विस्तारै सामाजिक सञ्जालमा बाढीका भिडियो र तस्बिर आउन थाले । बाढी त साच्चिकै अकल्पनीय रहेछ । यो बाढीभन्दा पनि एउटा बिष्फोट जस्तो थियो । हेल्लो सरकार शाखामा विपदका फोनहरु आउन थाले ।

दिवा सिफ्टका कर्मचारीलाई पनि तत्काल फोन गरेर बोलायौं । शाखालाई थप सक्रिय बनायौं । गोसाइकुण्ड जाने मेरो योजना रोकियो । यो बाढी एउटा महाप्रलय नै थियो । नेपाली समय अनुसार बिहानको ८ः३७ बजे तिब्बत नेपाल सीमाको नेपाल तर्फको लामटाङ हिमालबाट एउटा विशाल हिमनदी र यससँगै रहेको चट्टानी भूगोल चोइटिएर खसेको थियो ।

लेखक

यो पहिरोको लम्बाइ ६१० मिटर र चौडाइ ३३० मिटर थियो । निकै उचाइबाट यो हिमपहिरो खसेर बजारिदा ४.५ रिक्टर स्केलको भुइचालो सिर्जना भएको थियो । यो हिरोसिमामा खसेको अणुवमभन्दा तीन गुणा बढी शक्तिशाली थियो ।

धेरै उचाइबाट बजारिएको र अत्यन्तै ठूलो पिण्ड रहेको हँुदा हिउँ तत्काल पग्लिएर हिमोढ, गेग्रान, लेदो समेत बोकेर लेन्दे खोलामा मिसिएर तीव्र गतिका साथ अगाडि बढ्यो । बढ्दै गर्दा यसले गत सालको बाढीले थुपारेको गेग्रानसमेत साथैमा लिएर हिड्यो ।

हिमनदी स्खलन भएको ठाउँबाट २२ किमी पार गरेर टिमुरे नाका आइपुग्न जम्मा ७ मिनेट लागेबाट पनि यो बाढि कति गतिशील र शक्तिशाली थियो भन्ने स्पष्ट छ । नेपाल प्रवेश गरेपछिका दृष्य हामी सबैले देखेकै छौँ ।

मंगलबार साँझसम्म १३५७ जनाको लास भेटिएको छ । हराएका नागरिकको संख्या यकिन नभए पनि झण्डै ५३२६ नागरिक हालसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । टिमुरे, वेत्रावती, स्याफ्रुवेसी लगायतका बस्ती बगरमा परिणत भएका छन् । त्रिशूली बजारको पनि अधिकांश भाग बगरमा परिणत भएको छ ।

रसुवादेखि धादिङसम्म २२ वटा पक्की पुल बगेका छन् । ८ वटा जलविद्युत परियोजनामा ठूलो क्षति भएको छ । चीनसँग हाल पूर्ण रुपमा सञ्चालनमा रहेको एकमात्र टिमुरे नाका र सडक पुनः सञ्चालनमा आउन ठूलो रकम र महिनौ समय लाग्ने देखिन्छ । खासमा यो नाकाको दिगोपनामै प्रश्नचिन्ह खडा भएको छ ।

भदौ १० को बाढी यसले पु¥याएको क्षतिको आधारमा न भुतो न भविश्यति भए पनि यो नेपालले पछिल्लो दशकमा बेहोरेका थुप्रै बाढीमध्ये एक हो । भोटेकोशीको बाढीले हामीले भविष्यमा सामना गर्नपर्ने अनेकौ संकटका श्रृंखलाको भयावह तस्बिर देखाएको छ ।

वास्तवमा नेपालको हिमाली क्षेत्रबाटमा आउने अधिकांश बाढी विश्व तापमान वृद्धिका कारणले सिर्जना भएका छन् । विश्व तापमान वृद्धिमा नेपालको योगदान भने अत्यन्त न्यून छ । खासमा भन्नुपर्दा नेपालले यस सन्दर्भमा आफूले नखाएको विषको परिणम भोग्नु परेको छ ।

औद्योगिक क्रान्तिपूर्वको तुलनामा विश्वको औसत तापक्रम करिब १.१ डिग्री सेन्टिग्रेट बढेको छ । पछिल्ला वर्षमा तापक्रम वृद्धि अझ तीव्र हुँदै गएको छ । तापक्रम वृद्धिको बढी प्रभाव पर्ने क्षेत्रमा उच्च हिमाली भूभाग र समुन्द्रका साना टापुहरू हुन् । क्लाइमेट रिस्क इन्डेक्स, २०२६ अनुसार नेपाल विश्वव्यापी तापक्रम वृद्धिको कारणले हुने जोखिमको २६ औं स्थानमा रहेको छ ।

नेपाल विपदको उच्च सम्भाव्य क्षेत्रमा रहेकाले विपद उत्थानशील विकास अवलम्बन गर्नु पर्दछ । नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हाँसिल गर्ने तयारी गरेको छ । यसैगरी १६ औं योजनाले जलवायु उत्थानशीलता र समावेशी विकास गर्ने रणनीति लिएको छ । अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहँुच अभिवृद्धि र जलवायु हानी, नोक्सानी न्यूनीकरण जस्ता कार्यक्रम प्रस्ताव गरेको छ ।

तर विगतको भुँइचालो, कोभिड तथा पटक पटक आउने विपदले दिगो विकास लक्ष्य प्राप्तिलाई चुनौतिपूर्ण बनाएको छ । सोका लागि बाढी, पहिरो, भूकम्प, आगलागी, महामारी तथा अन्य जालवायुजन्य विपदले कम क्षति पुग्ने र विपदपश्तात समाज तथा अर्थतन्त्रले छिटो पुनस्र्थापना भएर अझ सुरक्षित रुपमा अघि बढ्न सक्ने गरी विकास योजनाहरूको सञ्चालन गर्नु आवश्यक देखिन्छ ।

चालु आवधिक योजनाले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग तथा विकासका अन्य पूर्वाधार र आधारभूत सेवालाई विपद्बाट हुने क्षति तथा अवरोध कम गर्दै उत्थानशील बनाउने लक्ष्य राखेको छ ।

विपद उत्थानशील विकासका लागि सर्वप्रथम विपद र जोखिमको पहिचान, मूल्यांकन र नक्सांकन गर्नु पर्दछ । यसरी पहिचान भएका जोखिमयुक्त बस्तीहरु सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने र विपद सम्भाव्य स्थानमा पूर्वाधार निर्माण नगर्ने गर्नुपर्दछ । यसपालिको भोटेकोशीको विपदलाई हेर्दा हामीले विपद सम्भाव्य स्थान पहिचान नै गर्न नसकेको देखन्छ । अत्यन्त साँघुरो, खोच र नदीको किनारमा भन्सार, अध्यागमन जस्ता कार्यालय स्थापना गरिएको छ ।

विपद उत्थानशीलताका लागि भूकम्प प्रतिरोधी तथा सुरक्षित पूर्वाधार निर्माण गर्ने, बाढी तथा पहिरोको जोखिम न्यूनीकरणका उपाय अपनाउने गर्नुपर्दछ । प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नु अर्को महत्वपूर्ण कार्य हो । भाद्र १० मा पनि हामीसँग विश्वसनीय पूर्वसूचना प्राणाली र अन्तरदेशीय सूचना साझेदारी संयन्त्र प्रभावकारी भएको भए क्षति कम हुन सक्दथ्यो ।

स्थानीय समुदाय, सरकारी संयन्त्रको विपद तयारी र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । समग्रमा जलवायु परिवर्तन अनुकूलनलाई विकासका योजनासँग जोड्दै बिल्ड ब्याक बेटरको अवधारणा अनुरुप अझ सुरक्षित र राम्रो पुनर्निर्माण गर्न यसले सहयोग गर्दछ ।

नेपालले भोटेकोशी बाढी समेतबाट पाठ सिकी विपद जोखिम न्यूनीकरणलाई विकासको मुलधारमा समावेश गर्नु आवश्यक छ । केवल विपद आएपछि उद्धार र राहतमा केन्द्रित नभई विकास आयोजना र पूर्वाधार निर्माण गर्नुअघि नै जोखिमको पहिचान, सुरक्षित पूर्वाधारको विकास, पूर्वतयारी, स्थानीय समुदायको क्षमता विकास आदिमा ध्यान पु¥याउनु पर्दछ । यसबाट जनधन र पूर्वाधारको क्षति न्यूनीकरण हुनुका साथै विकासका उपलब्धिलाई दीर्घकालसम्म उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->