बागलुङ/डेंगु संक्रमणको केन्द्र बनेको बागलुङमा किर्ना जस्तो कीराको टोकाइबाट संक्रमण हुने स्क्रब टाइफसका बिरामी फेला परेका छन् । मनसुन सुरु भएयता स्क्रब टाइफसका बिरामीको संख्या उच्च गतिमा थपिएको छ ।
गत वर्ष ५ जनामा मात्रै देखिएको स्क्रब टाइफसको संक्रमण असारयता २ सय ८२ जनामा देखिइसकेको छ । तीमध्ये केहीलाई पोखरा रिफर गरिएको छ भने केही बिरामीको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भएको छ ।
बिरामी बढ्दै गएपछि समुदायमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्ने, घरवरपर नियमित सरसफाइ र स्वास्थ्य जाँच गर्ने अभियान चलाइएको प्रदेश जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिइन् । स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुसी नामक ब्याक्टेरियाबाट हुने संक्रमण हो ।
जुन संक्रमित लार्भल माइटको टोकाइबाट मानिसमा सर्छ । विशेषगरी घाँस, झाडी, खेतबारी तथा जंगलमा काम गर्ने वा धेरै समय बिताउने व्यक्तिमा यसको जोखिम बढी हुने धौलागिरि प्रादेशिक अस्पतालका डा सन्दीप केसी बताउँछन् ।
उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जीउ र मांसपेशी दुख्ने, कीराले टोकेको स्थानमा दुखाइरहित कालो दाग बस्ने र आँखा सुन्निने वा रगत जस्तो रातो देखिने स्क्रब टाइफसका प्रारम्भिक लक्षण हुन् । स्क्रब टाइफसलाई सामान्य ज्वरो भनेर बेवास्ता गर्न नहुने डा केसीको भनाइ छ ।
‘विशेषगरी वर्षायाम र त्यसपछिको समयमा यो रोगको जोखिम धेरै हुन्छ । समयमै पहिचान र उपचार नभएमा फोक्सो, मिर्गौला, मुटु तथा स्नायु प्रणालीमा गम्भीर असर पर्न गई केही अवस्थामा बिरामीको ज्यानै जान सक्छ’, केसीले भने ।
ज्वरो आएका बिरामीमा डेंगु, टाइफाइड र मलेरिया लगायत अन्य कारणसँगै स्क्रब टाइफसको सम्भावनालाई पनि हुने उनको भनाइ छ । घाँस, झाडी तथा वनस्पति धेरै भएको ठाउँमा जाँदा शरीर पुरै ढाक्ने कपडा, मोजा र जुत्ता प्रयोग गर्ने, आवश्यकता अनुसार कीरा भगाउने औषधी प्रयोग गर्ने, बाहिरबाट घर फर्किएपछि कपडा परिवर्तन गरी शरीर सफा गर्ने तथा घर वरपरको झाडी र वनस्पति हटाउने जस्ता उपाय अपनाउन सके स्क्रब टाइफसबाट बच्च सकिन्छ ।
‘स्क्रब टाइफस विरुद्ध नियमित रूपमा उपलब्ध प्रभावकारी खोप नभएकाले किर्ना जस्तो देखिने कीराको टोकाइबाट बच्नु नै प्रमुख रोकथामको उपाय हो’, डा केसीले भने, ‘यसको उपचार सम्भव भएकाले समयमै पहिचान गरी उचित उपचार सुरु गर्न सकेमा अधिकांश बिरामी निको हुन्छन् ।’
ज्वरो धेरै दिनसम्म रहनुका साथै सास फेर्न गाह्रो हुने, बेहोस वा अलमल हुने, पिसाब कम हुने, लगातार बान्ता हुने, रक्तस्राव हुने वा बिरामीको अवस्था बिग्रिँदै जाने जस्ता संकेत देखिए तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकहरू सुझाउँछन् ।
स्क्रब टाइफसका बिरामीलाई सेतो रगतको आवश्यकता पर्छ । धौलागिरि अस्पतालमा सर्पदंश उपचार केन्द्र बनाउने गरी रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा सेतो रगत बनाउने पद्धतिले यसको रोग उपचारमा केही सहज भएको छ ।





