बागलुङ/धवलागिरि बहुमुखी क्याम्पस (डिएमसी) पूर्वविद्यार्थी संघ बागलुङको अध्यक्षमा जनकराज पौडेल सर्वसम्मत चयन भएका छन् । संघको प्रथम वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता लक्ष्मी बाँस्कोटा, सचिवमा तेजप्रसाद निउरे, कोषाध्यक्षमा रचना आचार्य, सह–सचिवमा अधिवक्ता गीता श्रीस, सदस्यहरुमा कृष्णराज शर्मा, हिराबहादुर केसी, बाबुलाल शाक्य, शान्तिदेवी शर्मा, नारायणप्रसाद पौडेल, विष्णुकुमारी लम्साल, टेकबहादुर आरसी र खड्कबहादुर थापा चयन भएका छन् ।
साधारणसभाले संघका सदस्य तेजप्रसाद निउरेले प्रस्तुत गरेको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवाल, पूर्वक्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्याय, पूर्वविद्यार्थी हरिप्रसाद श्रेष्ठ, विश्वनाथ रेग्मी र कृष्णराज शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
विश्वभर छरिएर रहेका क्याम्पसका पूर्वविद्यार्थीलाई संगठित गर्दै उनीहरूको क्याम्पसप्रतिको आत्मीयता पुनः जोड्ने उद्देश्यले २०८० सालमा संघ स्थापना गरिएको हो । पूर्वविद्यार्थीको सद्भाव, क्षमता र सहयोगलाई क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा केन्द्रित गर्नु संघको मुख्य उद्देश्य रहेको छ ।





