यदाकदाका घटनाबाहेक सदैव ताजापन र खुसीयालीमै छ नेपाली समाज ।पछिल्लो राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १४२ जातजाति बस्छन् । १२४ थरीका भाषा बोलिन्छ । नेपाल मन्दिर नै मन्दिर भएको देश हो। यहाँ कुनैबेला ९५ प्रतिशत हिन्दू थिए । अरु धर्म मान्नेहरु संख्यात्मक रुपमा धेरै थिएनन् । अहिले मिश्रित धर्म मान्ने समुदाय देखिन्छ तापनि हिन्दू धर्म मान्नेको जमातठूलै (८१.१९ प्रतिशत) छ ।
नेपालमा मनाइने राष्ट्रिय पर्वप्रशस्तै छन् । जुन यहाँको मौलिक संस्कृतिमा आधारित छन् । यो आलेखमा नेपाली महिलाको असाध्यै लोकप्रिय चाड हरितालिका तीजको सम्बन्धमा चर्चा गरिनेछ । भाद्र शुक्ल प्रतिपदादेखि सुरु भई पञ्चमीको पूजा सांगतासँगै समापन हुने तीज नेपाली समाजमा निकै लोकप्रिय छ । तीजमा मिष्ठान्न भोजन ग्रहण गर्ने, गीत गाउने, नाच्ने, गरगहना र राम्रो पहिरन लगाउने, उपवास र स्नानका साथै ऋषिमुनिको समेत पूजा गरिन्छ ।

लेखक
समाजको परिवर्तनसँगै तीजमा पनि परिवर्तन देखिएको छ । छाडा गीत, उत्ताउला नाच, उत्ताउला ड्रेस, खानपिन लगायत विभिन्न ठाउँमा महिनौंसम्म निरन्तर अस्वाभाविक खानपिनमा ध्यान दिनु, खर्च गर्नु यसका विकृति हुन् । तीजलाई माइतीघरसँगको सामिप्यता समेत जोडेर हेरिन्छ । वर्षदिनभरी माइत जान नपाएकी चेली लिन जानेर माइतीमा मीठा परिकार खाने, दुःखसुखका कुरा गर्ने, गीतमार्फत दुःख र पीडा अभिव्यक्त गर्ने प्रचलन हो । अहिले यस्तो चालचलनमा कमी आउन थालेको छ ।
तीजका मुख्य चार दिन
१. दर खाने दिन
यो तीजको पहिलो दिन हो। यसमा विवाहित तथा अविवाहित दिदीबहिनीलाई परिवारका सदस्य मिलेर दाजुभाइले दर खुवाउने गर्दछन् । मध्यराति वा उज्यालो हुनुअघि नै खीर, चिल्लोमा पकाएको खाजा, दूध, दही, घिउ, फलफूल वा माछामासु आदि खानालाई दर भनिन्छ । दरमा ढकने, आलुचप, आलु कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई. जस्ता अडिला खाना आदि पर्दछन्, जुन निकै अडिला खाना हुन् ।
यस्तो दर खाँदै रातभर नाचगानसहित रमाइलो गर्ने प्रचलन पनि छ । यस्ता प्रकारका अडिला खाना खाइने हुँदा दिदीबहिनीलाई अर्को दिन तीजमा व्रत बस्नसमस्या हुँदैन ।आजकाल विभिन्न संघ, संस्थाले पनि दर खाने कार्यक्रम आयोजना गर्ने प्रचलन छ ।
२. तीजको दिन
दर खाने दिनको भोलिपल्ट व्रत बस्ने महत्वपूर्ण दिन पर्दछ । यो दिनलाई हरितालिका तीज भनिन्छ । यो दिनमा महिलाकेही पनि नखाई दिनभर व्रत बस्ने, नाचगान गर्ने र बेलुकापख शिवजीको पूजा गर्ने गर्दछन् । ‘हरितालिका’को अर्थ मातापिता र बसेको ठाउँबाट साथीसँगीले सुटुक्क अन्यत्र लगेर लुकाएकी नारी भन्ने हुन्छ ।
धार्मिक कथा अनुसार सतीदेवीले श्रीमान् महादेवको अपमान गरेको सहन नसकेर पिता दक्षप्रजापतिले गरिरहेको हवन कुण्डमा हामफालेर देह त्याग गरेपछि उनको आत्मा हिमालय पर्वत र मेनुकाको कोखमा बस्न पुग्यो र पार्वतीका रुपमा जन्म भयो । पार्वतीसानैदेखि श्रीमहादेव स्वामी पाऊँ भनी जप, तप, प्रार्थना र कठोर व्रत बस्ने गर्दथिन् ।सुन्दरी पार्वतीसँग विष्णुले विवाह गर्न प्रस्ताव गर्दा हिमालय पर्वत राजी भएपछि पार्वतीले थाहा पाइन्; साथीहरूसँग वेदना पोखिन् । उनका साथीहरूले कसैले थाहा नपाउने गरी घरबाट भगाइ जंगलतिर लगेर राखे ।
त्यहाँ पार्वतीले एकान्तमा बसेर शिवको ध्यान गरिन् । एकदिन शिव प्रकट भई मनकामना पूरा हुने बरदान दिए । पछि पार्वतीको विवाह उनै शिवसँग भएको थियो । यसरी शिवजी प्रकट भई पार्वतीलाई आशीर्वाद दिएको दिनको प्रसंगमा जोडिएको दिनलाई हरितालिका तीज भन्न थालियो । विवाहितले श्रीमान्को सुख, शान्तिका लागि र अविवाहिताले असल श्रीमान् पाउनका लागि तीजको व्रत बस्न थाले ।
३. गणेश चतुर्थी
यो दिन पनि शिवपार्वतीकै कथासँग जोडिन्छ । यो दिनभगवान गणेशको जन्म भएको मानिन्छ । पार्वतीले गर्भधारण र प्रसव व्यथा बिना पुत्रलाभ गर्ने चाहना राखेपछि शिवको आशीर्वाद पाएर गर्भाधारण र प्रसव व्यथा बिना नै भगवान गणेशको जन्म भएको विश्वास गरिन्छ । यसरी गणेश जन्मिएको दिनलाई पवित्र दिन मानी महिलाले तीजको तेस्रो दिन व्रत बसी पूजाआजा गर्ने प्रचलन छ ।
४. ऋषिपञ्चमी
यो तीजको अन्तिम दिन हो । यो ऋषिपञ्चमीका दिनमा पनि महिला उपवास बसेर सप्तऋषिको पूजाआजा गरी नाचगान गर्छन् । बिहान शुभ बह्ममुहूर्तमा उठी स्नान गर्ने, अपमार्ग सफा गर्ने, दतिवन टोक्ने र पञ्चगव्य खाई शुद्ध भएर जमदग्नी, भारद्वाज, विश्वामित्र, कश्यप, गौतम, अत्री र वशिष्ठ नाम गरेका सप्तऋषिहरूको पूजाआजा गर्दछन् । नाचगानका साथ त्यो दिनको रात्रिपश्चात् हरितालिका तीज पर्व समापन हुन्छ ।
यसरी हरितालिका तीज खानपिन, रमाइलो, भेटघाट, नाचगान, दुःखसुखको साटासाट गर्दै सदियौंदेखि नेपाली समाजमा मनाइँदै आएको छ ।
तीजमा पुरुषको सहभागिता
परम्परागत रुपमा तीजमहिलाको पर्व हो । अहिले आएर तीज महिला, पुरुष दुवैको साझा पर्वका रुपमा विकसित भएको छ । पुरुषहरू पनि तीजमा नाचगान र खानपिन गरी दिदीबहिनीसँगै रमाउन थालेका छन् । महिलालाई तीजमा घुमफिर, भेटघाटका लागि अवसर दिने र घरायसी काम आफूले गरेर सहयोग गर्ने, भान्सामा विभिन्न परिकार वा दर पकाउन र सफाइ गर्न सहयोग गर्ने, श्रीमतीलाई वा दिदीबहिनीलाई उपहार दिएर तीजको शुभकामना दिने, मन्दिरसम्म सँगै जाने र समानताको सन्देश दिन व्रतसमेत बसेर साथm सहयोग दिने क्रम बढेको छ ।
तीजमा महिलाभन्दा बढी सांगीतिक गीतहरु निकालेर बजार तताउने कामसमेत पुरुषले गर्दै आएका छन् । एकल वा युगल रुपमा गीत निकालेर र सँगै नाचगान गरेर पुरुषको व्यापक देखिएको छ । आर्थिक रुपमा समेत पुरुषहरुले कपडा, गहना किनेर खर्च गर्ने र महिलाको लोकप्रिय तीज पर्वलाई रौनक थप्नमा सघाउन थालेका छन् ।
तीज पर्वलाई धार्मिक र पौराणिक चालचलनअनुसार मनाईंदै आएकोमा यसमा विकृति भित्रन नदिन सबै सचेत हुनु पर्दछ । तीजमात्र होइन; अन्य चाडपर्व मान्ने क्रममा पनि यस्तै विकृति र पश्चिमा संस्कृतिले जरा गाड्न थालेको छ । यसलाई सकेसम्म कम गर्दै लैजाने र भड्कावपूर्ण चाडपर्व मान्ने होइन कि चाडपर्वलाई सरल, घाँटी हेरेर हाड निल्न सकिने गरी र मितव्ययीसमेत बनाउन जरुरी छ ।





