बागलुङ/बुर्तिवाङका बिरामी हाडजोर्नीको समस्या पर्दा पोखरा, बुटवल र पाल्पा पुग्थे । तर पछिल्लो समय यहाँको प्राथमिक उपचार केन्द्र अस्पतालका रुपमा विकास भएपछि धेरैले यही उपचार गर्न पाएका छन् ।
अस्पतालमा छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सकसमेत पुगेपछि जटिल प्रकारको शल्यक्रिया पनि सम्भव भएको छ । अस्पतालमा परिणत भएको १ वर्षपछि बुर्तिवाङ अस्पतालमा हाडजोर्नी तथा नसा रोगसम्बन्धी जटिल शल्यक्रिया हुन थालेको हो ।
छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक आएको मौकामा शल्यक्रिया भएको मेडिकल सुपरिटेन्डेन्ट डा अभिनास पोखरेलले बताए । दरबन्दीका चिकित्सक नभए पनि हाल छात्रवृत्ति कोटाका तीन विशेषज्ञ र ४ मेडिकल अधिकृत तथा अन्य स्वास्थ्यकर्मी यहाँ कार्यरत छन् ।
छात्रवृत्ति करारमा आएका अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा अभिषेक चौहान, एमजिडिपी डा दिनेश थापा, डा सुरज नेपालीसहित एनेस्थेसियानका रुपमा पब्लिक हेल्थ इन्स्पेक्टर कृपा थापा र नर्स शान्ति माया तामाङले शल्यक्रिया गरेका हुन् ।
गोलीगाँठो भाँचिएकाले उपचार गर्न आएकी ४७ वर्षीय महिलाको अपरेसनमार्फत उपचार गरिएको हो । उनी बुर्तिवाङमै उपचार गरेर निको भएकी छन् । उनको हड्डीलाई पाता तथा स्कुको माध्यमबाट जोडिएको छ ।
सोही अस्पतालमा ४० वर्षीय महिलाको हातमा नसा च्यापिएको समस्याकोमा पनि सफल शल्यक्रिया भएको छ । ‘अहिले दक्ष चिकित्सक र केही सामाग्री भएको मौकाले यो उपचार सम्भव भयो; निरन्तरताका लागि आवश्यक सबै सेवा उपलब्ध हुनुपर्छ’, पोखरेलले भने, ‘रक्तसञ्चार र उपकरण पर्याप्त नभई जोखिममा उपचार सम्भव हुँदैन ।’
अस्पतालमा नियमित रुपमा दक्ष चिकित्सकको व्यवस्थापन पनि गरिनुपर्ने उनले बताए । जिल्ला अस्पतालको रुपमा स्थानीयलाई सेवा दिदै आएको अस्पतालले पहिलो पटक यस्तो जटिल प्रकृतिको उपचार सेवा दिएको हो । सदरमुकामदेखि ९० किमी पश्चिममा रहेको बुर्तिवाङमा उपचार नभएमा मध्य पहाडी लोकमार्ग भएर सदरमुकाम आउन ५ घन्टाभन्दा बढी समय लाग्छ ।
बुर्तिवाङमै उपचार गर्न पाउँदा स्थानीय खुसी भएका छन् । पछिल्लो समय मध्य पहाडी लोकमार्गको विकासका कारण सडक दुर्घटनाका बिरामीको उपचारदेखि नियमित उपचार पनि भएको छ ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले पटक पटक संघीय सरकारसँग दरबन्दी मागेको जनाए । अहिलेसम्म दरबन्दी नहुँदा स्थानीयलाई सेवा दिन कठिन भएको उनको गुनासो छ ।





