आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

बागलुङको खोला किनारका बस्तीमा त्रास

बागलुङको खोला किनारका बस्तीमा त्रास

एक वर्षसम्म तुरतुरेमा विशाल ताल बन्यो । तालले बस्ती डुबायो; सडक बग्यो । त्यसपछि तटीय क्षेत्रमा ठूलो जोखिम आइलाग्यो ।


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८३, शुक्रबार
तस्वीरः ढोरपाटन

बागलुङ/पछिल्लो दशक बागलुङको ढोरपाटन स्रोत भएका भुजीखोला, तमानखोला र बडिगाडमा पहिलेभन्दा बढी बाढी, पहिरो आयो । पहिरोले सयौं घर विस्थापित भए । दर्जनौं बस्ती जोखिममा परेका छन् । पशुचौपाया, खेतीपाती क्षतिको त हिसाबै छैन । ती खोलाका पहिरोले बुर्तिवाङ बजार धेरै ठाउँमा कटान ग¥यो । घर बगे, पुलहरूमा क्षति पुग्यो ।

२०७८ सालमा पहिरोले बडीगाड खोला नै थुनियो । एक वर्षसम्म तुरतुरेमा विशाल ताल बन्यो । तालले बस्ती डुबायो; सडक बग्यो । त्यसपछि तटीय क्षेत्रमा ठूलो जोखिम आइलाग्यो । संयोगले एक वर्षपछि त्यहाँ बनेको ताल क्रमशः खोलियो ।

एकै पटक खुलेको भए तटीय क्षेत्रको बस्ती जोखिममा पथ्र्यो । त्यो हुनबाट जोगियो । अझै पनि यहाँको सडक बन्न सकेको छैन । न त जोखिममा परेको बडिगाडको व्यवस्थापन भएको छ । जति बेला पनि यहाँ थप विपत्ति आउने खतरा छँदै छ ।

बागलुङको भूगोल भएर बग्ने कालीगण्डकीको तटीय क्षेत्र उच्च जोखिममा छ । म्याग्दीका खोचमा खस्ने पहिरोले जति बेला पनि कालीगण्डकीको बहाव बढ्ने खतरा रहेको भू–संरक्षणकर्मी शेरबहादुर श्रेष्ठ बताउँछन् । केही वर्षअघि म्याग्दीको बैंसरीमा खसेको पहिरोले दुई दर्जन घर बगेका थिए । तटीय क्षेत्रमा त्रास फैलिएको थियो ।

पछिल्ला वर्ष मुस्ताङमा खस्न थालेका सुख्खा पहिरो र जलवायु परिवर्तनले वर्षा भई बाढी आउने जोखिम उच्च भएको छ । उनले नदी र खोला किनारका बस्ती समयमा व्यवस्थापन गर्न पनि राज्य र स्थानीय तह सक्रिय बन्नुपर्ने सुझाव दिए ।

जिल्लाको मध्य भागमा बग्ने दरमखोला, बडिगाड खोला, भुजीखोला, गौंदीखोला जस्ता क्षेत्रमा खोला किनारमै बसेका बस्ती जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘हामीले खोलाको छेवैमा घर बनाएका छौं, जति बेला पनि जोखिम छ, तर कसलाई घर छाड्न भनौं ?,’ आचार्यले भने, ‘जोखिमबारे सचेतना दिने हो । अरु समस्या समाधान आफै गर्ने हो ।’

विपद् व्यवस्थापन समितिले समस्या आएपछि समाधान गर्ने भए पनि पूर्व सर्तकताका लागि पनि काम गरेको उनले खुलाए । समितिले कालीगण्डकी नदीमा आउने जोखिम आकलन गर्न टोली नै तयार गरेको छ । मुल हिमनदी भएकाले कालीगण्डकीमा जति बेला पनि हिमपहिरो आउने, त्यसले भोटेकोशी झै असर पर्ने सम्भावना छँदै छ ।

नदी किनारका घरपरिवारको तथ्यांक संकलन गर्ने र घरको अवस्थिति पत्ता लगाउन प्राविधिक सहितको टोली खटाइने आचार्यले बताए । अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्डमा पानीको सतह बढेको समाचार आउन थालेपछि कालीगण्डकीमा पनि हिमपहिरो आउन सक्ने, बाढी आउन सक्ने खतरा आकलन गर्दै सुरक्षाको दृष्टिले पनि अध्ययन गर्न आवश्यक ठानिएको छ ।

कुण्डबाट आउने पानी मिस्त्रीखोला हुँदै म्याग्दीको नारच्याङ आएर कालीगण्डकी नदीमा मिसिन्छ । यहाँ १५० मेगावाटभन्दा बढीका विद्युतगृह निर्माणाधीन छन् । कालीगण्डकी नदी किनारमा म्याग्दीको बेनी बजारसहित बागलुङको मालढुंगा, निरयघाट, माझी बस्ती, ढोडेनी, जैमिनीधाम, बेलबगर लगायतका एक दर्जन बस्ती छन् ।

ती बस्तीमा सयौं घरपरिवार छन् । गलकोटको हटिया बजार दरमखोला र गौंदीखोलाको तिरमा छ । यहाँ पनि खोला किनारमैसयौं घर बनेका छन् । बाढी आएको खण्डमा हुने जोखिमबारे आकलन गर्न नसकिने नगर प्रमुख भरत शर्मा गैरे सुनाउँछन् ।

‘नगरपालिका बनेपछि भन्दा पनि पहिला बनेका घर खोलाछेवैमा छन्’, गैरेले भने, ‘जोखिम न्यूनीकरणका लागि नगरको योजना छ, तर सबै योजना सञ्चालनमा ल्याउन प्राविधिक कठिनाइ छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->