बागलुङ/बागलुङ नगरपालिका वडा नं. ६ भान्सामा सञ्चालित जय नारायण कौशल्या गुरुकुलमलाई एजुकेसन फर लाइफ नर्वेले १ लाख रुपियाँ बराबरका विभिन्न विधाका पुस्तक सहयोग गरेको छ ।
कर्मा फाउण्डेशन फ्लाइटस् पोखराको पहलमा एजुकेसन फर लाइफ नर्वेले धार्मिक, सामाजिक तथा आधुनिक विधाका पुस्तक सहयोग गरेको हो । गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान तथा अध्ययनको दायरा फराकिलो बनाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको कर्मा फाउण्डेशनले जनाएको छ ।
एजुकेशन फर लाइफ नेपालका प्रतिनिधी कृष्ण पोखरेल र कर्मा फ्लाईटस् फाउण्डेशन नेपालका कर्मचारी कर्मसही घर्तिमगरले पुस्तक हस्तान्तरण गरेको जय नारायण कौशल्या गुरुकुलमका सञ्चालिका रंङ्गनायीकी गोदा देबीले जानकारी दिइन् ।
स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सक्रियतामा सञ्चालित गुरुकुलमा हाल आवासीयसहित ३० जना कन्याहरु अध्यनरत छन् । कन्या गुरुकुलममा संस्कृत, धार्मिक शिक्षासँगै सामाजिक तथा व्यवहारिक ज्ञान सम्बन्धी अध्ययनलाई समेत प्राथमिकता दिइँदै आएको पञ्चकोट विकास परिषदका सचिव नारायण प्रसाद आचार्यले बताए ।
गुरुकुलकी सञ्चालिका गोदा देवीले पुस्तक सहयोगले विद्यार्थीको अध्ययनमा थप सहयोग पुग्ने बताइन् । यसअघि बागमती प्रदेशका पुर्व सांसद रमेश पौडेलले ७० हजार बराबरको खाट, दराज, ¥याकलगायतका आवासीय सामग्री सहयोग गरेका थिए ।





