बागलुङ/धौलागिरी अस्पताल बागलुङमा डायलसिस सेवाको क्षमता विस्तार गरिएको छ । डायलसिस गर्नुपर्ने मृगौलाका बिरामीको संख्या बढेपछि क्षमता थप गरिएको हो ।
गण्डकी प्रदेश सरकारको २० लाख र अस्पताल व्यवस्थापन समितिको २० लाख गरी ४० लाख बजेटबाट पूर्वाधार निर्माण र डायलसिसका आवश्यक उपकरण व्यवस्थापन गरी क्षमता विस्तार गरी सेवा दिइएको हो । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट पूर्वाधार निर्माण गरिएको हो भने समितिको बजेटबाट उपकरण खरिद गरिएको हो ।
हाल अस्पतालबाट ६१ जना मृगौलाका बिरामीले डायलसिस सेवा लिइरहेका छन् । सेवाको विस्तारसँगै थपिएका चार वटा मेसिन जडान गरेछि थप १० जना बिरामीलाई सेवा दिन सकिने वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिइन् । ‘बिरामीलाई सेवा दिने मेसिन जडानको काम सँगसँगै भइरहेका छन्’, हिताङले भनिन् ।
‘विस्तारित डायलसिस सेवाले बिरामीले पालो पर्खिनुपर्ने र कतिपयलाई पोखरा धाउनुपर्ने बाध्यता हटेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले मृगौलाका बिरामी बढ्दो दरमा देखिएपछि सेवा विस्तार गर्ने योजना बनाएको अस्पताललाई गण्डकी प्रदेश सरकारले पूर्वाधार बनाउने रकम उपलब्ध गराएको जनाए ।
अस्पतालमा सरुवा रोगका बिरामीको उपचारका लागि समेत छुट्टै बेडको व्यवस्था गरिएको छ । सरुवा रोगका बिरामीलाई स्तरीय र विस्तारित सेवा दिन छुट्टै बेडको व्यवस्था गरिएको हो । ‘संक्रामक तथा सरुवा रोगको उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भनीले छुट्टै बेड तयार गरिएको हो’, डा तिवारीले भने ।
जलन र सर्पदंशको उपचार सेवा शुरु गरेको अस्पतालमा १२ वर्षअघि ट्रमा सेन्टर बनाउने चर्चा भए पनि अहिलेसम्म सञ्चालनमा आउन भने सकेको छैन ।





