सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

‘आजको लापरवाहीले भोलिको भविष्य संकटमा’

‘आजको लापरवाहीले भोलिको भविष्य संकटमा’


  • ढाेरपाटन संवाददाता
  • असोज ५ २०८३, सोमबार

बागलुङ/प्रकृतिप्रति देखाएको सानो बेवास्ता र लापरवाहीले भोलिको सिङ्गो मानव सभ्यतालाई नै महासंकटमा पारेको विद्यार्थीहरुले तर्क प्रस्तुत गरेका छन् । उनीहरुले रुख ढाल्न सजिलो छ, तर एउटा पगालिएको हिमनदी र त्यसले निम्त्याउने विपत्ति रोक्न अब असम्भवप्रायः बन्दै गएको सरोकारवाला समक्ष जवाफ सहितको प्रश्न राखे ।

लायन्स क्लब अफ बागलुङ बडिगाडले आयोजना गरेको ‘जलवायु परिवर्तनः आजको लापरवाही, भोलिको चुनौती’ विषयक वक्तृत्वकलामा विद्यार्थीहरूले ओजपूर्ण धारणा राखे ।

कक्षा ७ देखि १२ सम्मका ११ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले विकासका नाममा भइरहेको अनियन्त्रित प्राकृतिक दोहन, प्लास्टिकको अत्यधिक प्रयोग र औद्योगिक प्रदूषणले पृथ्वीको तापमान तीव्र रूपमा बढाएकोतर्फ गम्भीर चिन्ता व्यक्त गरे ।

विशेषगरी सहभागीहरुले हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई प्रकृतिको चेतावनी र जलवायु परिवर्तनको प्रत्यक्ष दुष्परिणामका रूपमा प्रस्तुत गर्दै नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका खेलेपनि जलवायु संकटको ठूलो मुल्य चुकाउनुपरेको भन्दै उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग गर्नुपर्ने बताए ।

आजको उपभोगवादी शैली र ढिलासुस्तीका कारण भोलिको पुस्ताले स्वच्छ हावा, पानी र सुरक्षित वातावरण पाउनुको साटो अतिवृष्टि, अनावृष्टि र खडेरी जस्ता प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने उनीहरूको तर्क थियो । कागजी नीति र ठूला भाषणमा मात्र सीमित नभई विद्यालय तहबाटै अनिवार्य वृक्षारोपण, फोहर वर्गिकरण र हरित ऊर्जाको प्रयोग बढाएर व्यवहारमै परिवर्तन ल्याउनुपर्नेमा सहभागीहरूले एकै स्वरमा जोड दिए ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ज्ञवाली, भानु माविका प्रध्यानाध्यापक केशव खरेलले विद्यार्थीहरूले भोटेकोशी बाढीजस्ता ताजा घटनालाई जोडेर उठाएका विषय अत्यन्त गम्भीर रहेको र नयाँ पुस्ताको यो गर्जनले राज्य र समाजलाई प्रकृति संरक्षणमा तत्काल कदम चाल्न झक्झक्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा रिभरहेड बोर्डिङ स्कल गलकोटका प्रसिद्धि कँडेल प्रथम, भिमगिठे माविकी समिक्षा कुँवर द्धितिय, भैरव मावि गलकोटका समर गौतम तृतिय तथा किटेनी मावि रणसिंहकिटेनीकी माया घर्ती सान्त्वना भए । उनीहरुलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार, १ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । प्रतियोगितामा सहभागि सबै विद्यार्थीलाई सन्त्वना पुरस्कार स्वरुप जनही ५ सय रुपियाँका दरले प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->