बागलुङ/डेंगीका बिरामी बढेपछि बागलुङ नगरपालिकासहित स्थानीय तह र प्रदेश जनस्वास्थ्य कार्यालयले सचेतनामूलक गतिविधि जारी राखेका छन् । सचेतना आम नागरिक तहमा नपुग्दा र धेरैले सचेतनालाई बेवास्ता गर्दा संक्रमण बढेको बढ्यै छ ।
आम नागरिकले आफ्नै घरवरपर सफाइ नगरी संक्रमण बढेपछि बागलुङ बजारभित्र लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने, लार्भाहरु परीक्षणका लागि पठाउने काममा स्वास्थ्यकर्मीहरू नै खटिएका छन् ।
पटक पटक बजारभित्रका बस्तीमा बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले खोजी अभियान चलाएको हो । सोमबार पनि बागलुङ नगरपालिका वडा नं. ४ का बस्तीमा स्वास्थ्यकर्मीहरु खोजी अभियानमा पुगे ।
उनीहरुले शंकास्पद लार्भाका नमूना परीक्षणका लागि पठाएका छन् भने जमेको पानी फाल्ने, झाडी पन्छाउन लगाउने, जथाभावी फालिएका टायर ओभानो स्थानमा राख्न लगाउने गरिरहेको कार्यालयकी मलेरिया इन्स्पेक्टर कमला थापाले बताइन् । ‘हामीले संकलन गरेका नमूनाको ल्याब परीक्षण प्रतिवेदन त अर्को दिन आउने छ, तर अधिकांश स्थान शंकास्पद छन्’, उनले भनिन्, ‘घर घरमा बिरामी छन्, तर सरसफाइ अभियानमा चासो नराखेको पाइयो ।’
सफाइ अभियानमा अझै बढी जोड दिनुपर्ने उनले बताइन् । आफ्नो घर सफाइ गरे पनि छिमेकीले नगर्दा समस्या आउने कुरा सचेतनाका रुपमा बुझाउनुपर्ने समेत उनको धारणा छ । जिल्ला स्थित कार्यालय प्रमुखको बैठकमा पेश गरिएको प्रतिवेदन अनुसार सोमबारसम्म बागलुङमा १ हजार ५ सय ८९ जनामा डेंगी पुष्टि भएको छ ।
यी बिरामी अस्पतालमा आएर रगत जाँच गरेर पुष्टि भएकामात्र हुन् । घर घरमा बिरामी भएकाहरुको तथ्यांक यसमा पूरै आउने कुरै भएन । तीमध्ये १ हजार ३ सय ८९ को धौलागिरि अस्पतालमा उपचार भएको हो भने अन्यको ग्रामीण क्षेत्रका अस्पताल र स्वास्थ्य चौकीमा उपचार गरिएको थियो ।
डेंगी संक्रमणपछि अत्यधिक ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, वाकवाकी हुने र बेहोस हुने समस्या आउँछन् । जिल्लामा डेंगीसँगै स्क्रब टाइफसका बिरामी पनि बढेका छन् । अस्पताल स्रोतका अनुसार भदौपछि १ सय हाराहारी स्क्रब टाइफसका बिरामी थपिएका छन् । उनीहरुमा पनि डेंगीकै लक्षण देखिने गरेको छ ।
पछिल्लो समय बालबालिकामा पनि डेंगी समस्या देखिएको छ । उनीहरुलाई समेत अस्पतालमा धेरै दिनसम्म भर्ना गरी उपचार गराउने गरिएको छ । ‘संक्रमण दर कम देखिएकाले समस्या बिस्तारै घट्ने देखिन्छ, तर जोखिम भने कायमै छ’, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, ‘संक्रमितको संख्या घटेको छ भन्दैमा ढुक्क बन्न भने सकिँदैन ।’
धौलागिरि अस्पतालमा आउने अन्य धेरै बिरामीमा पनि ज्वारो आउने, शरीर दुख्ने जस्ता डेंगीकै लक्षण देखिएका छन् । तर अधिकांश रगत परीक्षण गरेका छैनन् । संक्रमित भएकाहरु पनि छिटो निको नभएपछि पटक पटक फलोअपमा आउने गरेका छन् । अस्पतालको आकस्मिक शाखाका एक स्वास्थ्यकर्मीले डेंगी भएर उपचार गरेकाहरु पटक पटक अप्ठ्यारो भयो भन्दै राति पनि आउने गर्छन् ।
असोज लागेपछि दैनिक आउने डेंगीको बिरामी संख्या भने घटेको छ । पहिले अस्पतालमा बेड नपुग्ने भएपछि डेंगीका बिरामीलाई रगत परीक्षण, उपचार र औषधी वितरणपछि घर पठाउने गरिएको थियो । घरको छतमा पानी जमेको नफाल्ने, ड्रमहरु खुला राख्ने, मोटर ग्यारेजहरुमा रहेका टायर खुला राख्दा पानी जमेर लार्भा उत्पनन हुने गरेकाले नियमित सरसफाइ र जनचेतनाका कार्यक्रम गरिरहनु परेको छ ।





