पोखरा/गण्डकी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्रीलक्ष्मणबहादुर पाण्डे, पाण्डेका स्वकीय सचिव यादव पौडेल र सो मन्त्रालयका सचिव डा युवानिधि बसौला अनियमित रुपमा रकम लिएको प्रकरणमा मुछिएका छन् । पोखराको पद्म नर्सिङ होमको स्तरवृद्धिको अनुमति दिन रकम लिएको सार्वजनिक भएपछि पूर्वमन्त्री पाण्डेमाथि एमाले गण्डकी संसदीय दलले छानबिन थालेको छ भने सचिव बसौलालाई कारवाही गरिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई जिम्मेवारीबाट हटाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले स्वास्थ्य मन्त्रालयबाट पछिल्लो दुई वर्षमा प्रदान गरेका अस्पताल सञ्चालन अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी निर्णयको कानुनी व्यवस्था, अभ्यासलगायत विषयमा छानबिन गर्न तीन सदस्यीय समितिसमेत गठन गर्ने निर्णयसमेत गरेको जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा गठन हुने समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । यस विषयमा अनुसन्धान तथा छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।
अनियमितताबारे स्पष्ट नहुँदासम्म पद्म नर्सिङ होमलाई ५० शड्ढयाबाट १०० शड्ढयामा स्तरोन्नति गर्ने अनुमति कार्यान्वयन नगर्ने, नगराउने निर्णय पनि गरेको छ । पाण्डेमाथि छानबिन गर्न नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमासंसदीय बोर्ड सदस्य बेदबहादुर गुरुङ र एमाले गण्डकीसचिव धनञ्जय दवाडी सदस्य रहेको समिति गठन गरेको छ ।
पद्य नर्सिङ होमका क्षमता विस्तारको अनुमति अस्पतालको खाताबाट यादव पौडेलको नाममा ३० लाख रुपियाँको चेक काटिएको विवरणसमेत सार्वजनिक भएको छ । मन्त्री पाण्डे गएको भदौ ९ गते गण्डकी सरकारबाट बाहिरिएका थिए ।





