पोखरा / श्री कृष्ण युवा क्लबको आयोजनामा डेनीश छन्त्यालको स्मृतिमा प्रथम ‘डेनीश १४ शट्स मेमोरियल कप’ आयोजना हुने भएको छ ।
यहि असोज २५ देखि २९ गतेसम्म पोखरा लामाचौरस्थित पुन मगर समाजको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा खुला पुरुष ५–५ बास्केटबल तथा महिला भलिबल हुने भएको हो । क्लबका तर्फबाट जीवन छन्त्यालले प्रतियोगिताबारे जानकारी दिँदै डेनीशको खेलकुद र सिर्जनात्मक यात्रालाई सम्झनामा राख्दै प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनका अनुसार डेनीशको बास्केटबलप्रतिको रुचि र युवामाझको सक्रियतालाई सम्मान गर्दै प्रतियोगिता गर्न लागिएको हो ।
बास्केटबलतर्फ प्रथम हुने टिमले एक लाख ५४ हजार १४ रुपैयाँ तथा दोस्रो हुनेले एक लाख १४ हजार १४ रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता तथा अनुशासित टोलीलगायतका विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महिला भलिबलतर्फ प्रथम हुने टिमले ८५ हजार १४ रुपैयाँ तथा दोस्रो हुनेले ५५ हजार १४ रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भिस, उत्कृष्ट सेटरलगायतका विधामा पनि पुरस्कार राखिएको छ ।





