पोखरा / लोक गीत तथा संगीतका सर्जक पुर्ण नेपाली पोखरामा सम्मानित भएका छन् । पोखराको बाटुलेचौरमा रहेको भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले २७ औं बार्षिकोत्सव एवं नवौं अधिवेशनका अवसरमा नेपाली लोक गीत तथा सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै, नेपालीलाई सम्मान गरेको हो ।
सोही अवसरमा स्वास्थ्यतर्फ डा। सुवास बस्नेत र शिक्षातर्फ प्रविनबाबु भट्टराई पनि सम्मानित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विन्ध्यवासिनी मा।विका प्राचार्य कृष्ण प्रसाद आचार्य र मञ्चका अध्यक्ष हरिबहादुर बरुवालले सम्मानपत्रसहित दोशल्लाले सम्मान गरे ।
कार्यक्रममा प्रतिकुल मौषमका कारण बस्नेत र भट्टराई अनुपस्थित थिए ।बाटुलेचौरमै जन्मिएर विन्ध्यवासिनी माविबाट शिक्षा आर्जन गरेका सम्मानित परियार पेसागत रूपमा सङ्गीतकार र नृत्य प्रशिक्षकका रूपमा परिचित भए पनि गायनमा समेत दख्खल राख्छन् ।
उनले आहा कलिलो तामालाई, सोह्र बर्से उमेरैमा र कस्की छोरी हौ तिमी,जस्ता धेरै कालाजयी तथा चर्चित लोकभाकामा स्वर र सङ्गीत दिएका छन्।हालसम्म स्वदेश तथा विदेशका बिभिन्न स्थानमा पुगेर उनले करिब ५०० भन्दा बढी साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू दिएका छन् ।
सम्मानपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि विन्ध्यवासिनी मा।विका प्राचार्य आचार्यले यस क्षेत्र शिक्षामा मात्र कला, संस्कृति र संगीतका क्षेत्रमा पनि अब्बल रहेको बताए । उनले बिभिन्न क्षेत्रमा योगदान पुर्याउने यस्ता मुर्धन्य व्यक्तिको सम्मानले स्वयं संस्था नै सम्मानित भएको बताए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व पुर्ण नेपालीले आफु जन्मिएको र अध्ययन गरेको क्षेत्रमा सम्मानित हुन पाउँदा गर्व लागेको अनुभव सुनाए । उनले विगत ५७ बर्षदेखि आफु काठमाण्डौंमा रहेपनि यस क्षेत्रमा निरन्तर आउँजाउँ गरिरहेको र त्यस अवसरमा यहाँका लोक गीत तथा संगीतलाई पनि निरन्तरता दिएको बताए ।
पूर्व राज परिवारका सदस्यहरूलाई समेत संगीत अद्यापन गराएका उनले लोक सस्कृति र संगीतको विकासमा सबै पक्षको ध्यान जानु आवश्यक रहेकोमा जोड दिए । शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतले मञ्चले गरेका बिभिन्न कार्यक्रम अरु संस्थाका लागि पनि अनुकरणीय रहेको बताईन् ।
कार्यक्रम कै अवसरमा मञ्चलाई सहयोग गर्ने एस एल सी व्याच २०४८ र कल्याण गुरुङसहितका सहयोगीलाई पनि सम्मान गरिएको थियो । मञ्चका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सञ्जय बस्नेत र संचालन सचिव भीमबहादुर गायकले गरेका थिए । यसैबिच मञ्चको नवौं अधिवेशनले पुनस् बरुवालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा सञ्जय बस्नेत, सचिवमा माधव तिमिल्सेना,सहसचिवमा डा।ई महेन्द्र बानियाँ र कोषाध्यक्षमा रिता तिमिल्सीना चयन भए । मञ्चको सदस्यमा एकराज नेपाली,कृष्ण थापा,सुर्य बहादुर गायक,मिनुका भुजेल,सृजना थापा र शकुन्तला केसी छन् । निर्वाचन समिति संयोजक नरनाथ भट्टराई तथा सदस्यहरू दयाशंकर अधिकारी र कुलबहादुर खत्रीको संयोजनमा अधिवेशन सम्पन्न भएको थियो।





