पोखरा / इन्जिनियर हरिबहादुर पहारीले आफ्नो जग्गा हालसाबिक गर्दा पाएका दुःखलाई समेटेर पुस्तक नै प्रकाशन गरेका छन् । पहारी कुल संरक्षण समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला लगायतले पहारीको कृति ‘हालसाबिक’ सार्वजनिक गरे ।
बास्तोलाले हालसाबिक कृति सम्भ्रान्तहरूको बसोबास रहेको सहर पोखरामा यहाँका केही खराब प्रवृत्तिका कर्मचारी, जनप्रतिनिधि, शैक्षिक संस्था सञ्चालक र संघ, संस्थाका प्रतिनिधिले दिएको पीडाको दस्तावेज भएको बताउ । उनले थपे ‘विकृति र विसंगति सहेर बस्ने नभई त्यसलाई लिपिबद्ध गर्न सकियो भनेमात्र त्यसले समाजमा चेतना जगाउने हुँदा चेतनाको दीप जलाउन हरिबहादुर पहारी जस्ता जुझारु युवाको खाँचो छ ।’
पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ले देशका केही खराब प्रवृत्तिधारी व्यक्तिका कारण इमान्दार राष्ट्रसेवक, कर्मचारी र जनप्रतिनिधिलाई अप्ठ्यारो पर्ने गरेको बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी महासचिव असफल गौतमले हालसाविक कृति पोखरा जस्तो सहरमा सुशासन, न्याय र बौद्धिक चिन्तन हराएको चित्रका रूपमा बजारमा आएको बताए ।
पोखरा पर्यटन परिषद् अध्यक्ष हरिबहादुर भुजेलले हालसाबिकले कास्कीको आवाज मात्र नबोलेर हाम्रा केही खराब प्रवृत्तिको चित्रण गरेको बताए । उनले थपे, ‘क्रान्तिको अनुपम नमुना कलम र कुची भएकाले हरिबहादुरको पुस्तकले अर्थ बोकेर आएको छ ।’
टान गण्डकी अध्यक्ष कृष्ण आचार्यले टे«किङ व्यवसायमै संलग्न हरि जस्ता युवालाई संरक्षण गर्नु टानको पनि दायित्व भएको जनाए । पहारी कुल संरक्षण समितिका सल्लाहकार गोविन्दराज पहारीले राज्यका केही कर्मचारीको कमजोरीले कृति जन्मेको बताए ।
कृतिकार हरिबहादुरले जापानमा इन्जिनियरिङ पूरा गरी योग्यता अनुसारको सेवा, सुविधा पाउँदा पाउँदै आफ्नै जन्मभूमिमा केही गरौँ भनेर आएपछि जग्गा हालसाबिक गर्ने क्रममा ५ सय ७ दिनसम्म अनाहकमा भोग्न परेको पीडा अरूलाई नपरोस् भन्ने सन्देश दिन तथ्य र प्रमाणसहित लिपिबद्ध गरेको बताए ।
पहारी कुल संरक्षण समिति अध्यक्ष जगत्बहादुर पहारीले हरिले सन्देशमूलक कृति प्रकाशित गरेर पहारी वंशमा सचेतना जगाउने काम गरेको बताउँदै यस्ता योग्य प्रतिभालाई देशमै राख्नका लागि प्रेरित गर्न समिति निरन्तर लागिरहने धारणा राखे । कायपोखरा–६, बैदाम महिला सञ्जालकी अध्यक्ष बबिता मल्ल र अधिवक्ता प्रमिला आचार्य शर्माले पनि बोलेका थिए ।





