पोखरा / ‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान गरेको छ ।
लायन्स क्लब अफ पोखरा चौतारीको वार्षिक नियमित कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उनीहरूको अध्ययनमा आवश्यक पर्ने विभिन्न स्टेशनरी सामग्री हस्तान्तरण सहित आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा जेहेन्दार चार जना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको हो ।
डिस्ट्रिक्ट ३२५ बिका गभर्नर लायन प्रजापति बास्तोला बास्तोलाले लायन्स क्लबले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पु¥याउने उद्देश्यले गरिएको सहयोगले बालबालिकालाई अध्ययनप्रति थप उत्साहित बनाउन सहयोग पुग्ने उनले बताए।
उनले शिक्षा क्षेत्रमा गरिएको सहयोग समाज परिवर्तनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै विद्यार्थीको आवश्यकता र क्षमतालाई ध्यानमा राखेर गरिने यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा क्लबका अध्यक्ष गोविन्द ढकालले क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा पनि आवश्यकताका आधारमा शिक्षा तथा सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
क्लबका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक तेजबहादुर भट्टराईले विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि आवश्यक सामग्री उपलब्ध हुनुका साथै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएकाले कार्यक्रमबाट विद्यार्थी र अभिभावक उत्साहित भएकाे सुनाए ।





