पोखरा / पोखरा आउन लागेको भुटानको राष्ट्रिय क्रिकेट टोली बाढी, पहिरोका कारण काठमाडौंमै अडकिएको छ । आइसिसी टि २० विश्वकप छनोट खेलअघि अभ्यास खेलका लागि पोखरा आउन लागेको भुटानी टोली काठमाडौंमै बसेको हो ।
शनिबार बिहान पारोबाट हिडेको टोली फ्लाइट बी ३७७१ मार्फत् काठमाडौं अवतरण गरेको थियो । शनिबार नै पोखरा आउने प्रयास गरे पनि पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध हुँदा पोखरा आउन नसकेको प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
‘हिजै भुटानी टोलीलाई पोखरा ल्याउने प्रयास गरिए पनि राजमार्गको अवस्थाका कारण सम्भव हुन सकेन । आज पनि सडकमार्गबाट पोखरा ल्याउन सक्ने अवस्था नबनेपछि टोलीका लागि आज टियु मैदानमा अभ्यासको व्यवस्था गरिएको छ’, उनले भने, ‘दोस्रो विकल्पका रूपमा हवाई मार्गबाट पोखरा ल्याउने प्रयास गरिएको थियो । तर भुटानी टोलीले हवाई मार्गभन्दा सडकमार्गबाटै पोखरा आउने इच्छा व्यक्त गरेकाले आज हवाईमार्गबाट ल्याउन सम्भव भएन ।’
सोमबार बिहान राजमार्गको अवस्था अनुकूल भई सडक खुलेको खण्डमा बसमार्फत् टोलीलाई पोखरा ल्याउने तयारी गरिएको छ । भुटानी टोली पोखराबाट अक्टोबर १ मा काठमाडौं फर्किने पूर्वनिर्धारित कार्यक्रम रहेको पनि उक्त कार्यक्रमलाई अक्टोबर २ सम्म सार्ने प्रयास भइरहेको सिग्देलले जनाए । त्यसका लागि भुटान टोलीले आफ्नो बोर्डबाट आवश्यक सहमति लिन पहल गरिरहेको छ भने नेपाल क्रिकेट संघसँग पनि तालिका मिलाउने विषयमा आवश्यक समन्वय तथा छलफल गरिरहेको छ ।
मलेसियामा यही असोज १७ देखि सुरु हुने प्रतियोगिताको तयारीका लागि भुटानले पोखरालाई आफ्नो वैदेशिक प्रशिक्षण गन्तव्यका रूपमा छानेको छ । भ्रमणका क्रममा भुटानी टोलीले गण्डकी प्रदेश क्रिकेट टोलीसँग २ र क्यान–११ सँग २ गरी ४ अभ्यास खेल खेल्ने योजना रहेको थियो । तर, निरन्तरको वर्षाका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा डक अवरुद्ध भएको छ ।





