पोखरा / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल रेम्बो एकेडेमी होम्स, पोखरा–१५ को व्यवस्थापनमा कास्की जिल्ला स्तरीय एकल लोक नृत्य प्रतियोगिता आइतबार भएको छ ।
प्रतियोगितामा रेम्बो एकेडेमी होम्सका मिसन हमाल प्रथम, कास्की मोडर्नाइज एकेडेमीका विपिन नेपाली द्वितीय, छोरेपाटन माध्यमिक विद्यालयकी प्रिन्सेस थापा तृतीय तथा राष्ट्रिय माध्यमिक विद्यालयकी अञ्जली सुनार र शिवशक्ति माध्यमिक विद्यालयकी सोनिया मगर सान्त्वना ठहरिए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजारका साथमा ट्राफी तथा प्रमाणपत्र पाए । उनीहरुलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की सभापति उमिँला खड्का भण्डारी तथा पोखरा १५ उपशाखाका सभापति शिवबहादुर भण्डारीले पुरस्कृत गरे ।
प्रतियोगिताका निर्णायकमा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य रोहित गुरुङ तथा पवित्रा गुरुङ थिए । प्रतियोगितामा २२ विद्यालयका जुनियर युवा रेडक्रसका विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोररणबहादुर बानियाँले जुनियर युवा समितिले विद्यार्थीलाई सामाजिक तथा मानवीय सेवाका गतिविधिमा सहभागी गराउँदै उनीहरूको प्रतिभा प्रस्फुटन, स्वयंसेवी भावना तथा नेतृत्व र क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । विद्यालय तहमा सरसफाइ, वातावरण संरक्षण, रक्तदानसम्बन्धी सचेतना, प्राथमिक उपचार तथा विपद् व्यवस्थापन लगायतका गतिविधिमार्फत् विद्यार्थी जोडिनु प्रशंसनीय रहेको उनले बताए ।
रेडक्रस कास्की सभापति भण्डारीले यस्ता कार्यक्रमले जुनियर तथा युवा रेडक्रसका स्वयंसेवकमार्फत् सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई विद्यालय तहसम्म विस्तार गर्न सहयोग पुग्ने जनाइन् । रेडक्रस कास्कीका उपमन्त्री तथा जुनियर युवा समितिका संयोजक डिल्लीराम बरालले प्रतियोगिताको औचित्य र प्रभावबारे प्रकाश पारे । उनले कास्की रेडक्रसको ४२ औं जिल्ला सभाबाट पारित प्रतियोगितात्मक, सचेतनामूलक, प्रशिक्षण लगायतका १६ कार्यक्रमअन्तर्गत यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
नेपाल जुनियर रेडक्रस सर्कल रेम्बो एकेडेमी होम्स अध्यक्ष प्रज्वल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेम्बो एकेडेमिक होम्सका प्राचार्य बाबुराम बराल, विद्यालयका निर्देशक सुशीलराज पराजुली, छात्र अनमोल स्वाँईन, शिक्षक अनिषा बराल, नेन्सी प्रधान र प्रिन्सिका गुरुङ लगायतले बोलेका थिए ।





