म्याग्दी / अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा गएको पहिरो र बाढीले ठुलो क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता रहेका छन् ।
अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामका ५४ वर्षीय योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुनको पहिरोमा परी मृत्यु भएको हो । त्यस्तै अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी पाँच वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ की ७५ वर्षीया शिलकुमारी गर्बुजाको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर मृत्यु भएका छ जनाको शब प्राप्त भएको तथा ३ जना अझै पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताए ।
पहिरोमा परी अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढी पहिरो पछि जोखिममा रहेका नागरिकहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरीएको छ । अन्नपूर्ण गाउँपालिकाको विभिन्न स्थानबाट ७८ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
उद्धार गरिएका मध्ये ६५ जनालाई अन्नपुर्ण गाउँपालिका कार्यालयको निगरानीमा राखिएको छ भने १३ जनालाई आफन्तकोमा राखिएको छ । जिल्ला प्रशासन कार्यालयले पीडितहरूका लागि चामल, आटा, दाल, तेल, चिउरा, साबुन, त्रिपाल लगायतका १७ प्रकारका खाद्य तथा राहत सामग्री वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।
बाढी तथा पहिरोले गर्दा ठूलो मात्रामा भौतिक क्षति हुँदा यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बाढी–पहिरोले जिल्लाका मुख्य सडक खण्डहरू बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–बागलुङ सडक खण्ड अबरुद्ध भएको छ । बेनी–जोमसोम सडक खण्डको बेनी–गलेश्वर खण्ड पूर्ण रुपमा अबरुद्ध छ ।
बेनी–जोमसोम सडक खण्डकै रघुगंगा गाउँपालिका ३ तिल्किनी, रघुगंगा गाउँपालिका २ बैशरी, अन्नपुर्ण गाउँपालिका २ नौनी भिर, अन्नपुर्ण ३ सुकेबगर, रुप्से झरना, काभ्रे भिर लगायतका स्थानमा सडक अवरुद्ध पारेको छ । त्यसैगरी बेनी–बागलुङ सडक खण्डकको बेनी नगरपालिका १ सिममा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका ४ फापरखेत, मंगला गाउँपालिका २ लामपाटा लगायतको स्थानमा अबरुद्ध रहेको छ ।
वर्षा सँगै आएको बाढी पहिरोले पुल तथा पूर्वाधारमा समेत ठुलो क्षती पुगेको प्रहरीले जनाएको छ । रघुगंगा गाउँपालिका–३ तिल्किनि देखि पर्वत जोड्ने झोलुङ्गे पुल कालिगण्डकीले बगाएको छ भने सोही स्थानमा ३ वटा घरमा क्षति पुगेको छ ।
रघुगंगा गाउँपालिका ३ मा रहेको रघुगंगा हाइड्रोपावरका ७ वटा गाडी बाढीले बगाएको छ । बेनी नगरपालिका–९ ढोलथानका १२ घर उच्च जोखिममा परेको प्रहरी चौकी गलेश्वरले जानकारी दिएको छ ।
त्यसैगरी बेनी नगरपालिका १ थाउनेबगरका १८ घर कालीगण्डकी नदिको डुवानमा परेका थिए । बेनी नगरपालिका–७ बेनीमा ध१ख ४७० नम्बरको बसमा क्षती पुगेको छ । त्यस्तै बेनी नगरपालिकाले पार्कीङ गरी राखेको फोहोर उठाउने एउटा गाडी लेदो सहितको बाढीले पुरेको छ । त्यस्तै भेटेरीनरी कार्यालयमा पार्क गरी राखेको एउटा गाडी र तीन वटा मोटरसाइकल पुरीएको प्रहरीले जनाएको छ । क्षतीको विवरण अझै धेरै हुन सक्ने र त्यसको विवरण संकलनकै क्रममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए ।





