बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

म्याग्दीमा बाढीपहिरो : २ सय ७९ विस्थापित

म्याग्दीमा बाढीपहिरो : २ सय ७९ विस्थापित


  • अमृत बास्कुने
  • असोज १४ २०८३, बुधबार
राहत सामग्रीसहित म्याग्दीका प्रभावित क्षेत्र जाँदै नेपाली सेनाको हेलिकोप्टर । तस्बिर : अमृत बास्कुने

म्याग्दी/लगातारको वर्षापछि पहिरो जाँदा म्याग्दीका ६ वटै स्थानीय तहमा पहिरो तथा बाढीले ठूलो क्षति पुगेको छ । भौतिक संरचना तथा सडक, सञ्चार एवं विद्युत प्रशारण लाइनमा समेत क्षति हुँदा विपत्तिको तथ्यांक संकलनमं समस्या परेको छ ।

मंगलबार रातिसम्मको विवरण अनुसार बाढी, पहिरोबाट जिल्लामा ७ जनाको मृत्यु, २ बेपत्ता र २ सय ७९ जना विस्थापित भएका छन् । पहिरोमा परेर बेनी नगरपालिकामा १ जना बेपत्ता भएका छन् भने सबैभन्दा धेरै अन्नपूर्ण गाउँपालिकामा ५ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिकामा २ युवाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी कुलप्रसाद आचार्यको भनाइ छ । अन्नपूर्ण गाउँपालिका बाहेकका पाँच स्थानीय तहमा १ सय ३९ घर र ५६ गोठमा क्षति पुगेको छ । त्यसमध्ये ४९ घर पूर्ण क्षति, ११ घर आंशिक क्षति पुगेको छ भने ७७ घर उच्च जोखिममा छन् ।

अन्नपूर्ण गाउँपालिकाको यकिन तथ्यांक अझै आउन सकेको छैन । बेनी नगरपालिकाबाट ६३ जना, रघुगंगा गाउँपालिकाबाट २२ जना, मंगला गाउँपालिकाबाट ६८ जना र मालिका गाउँपालिबाट १७ जना विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकाबाट १ सय ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाटै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने पाउद्वार गाउँ उच्च जोखिमयुक्त भएकाले पूरै बस्तीका मानिसलाई नै सुरक्षित स्थानमा लगिएको छ ।

हालसम्म २ सय २९ जनालाई स्थान्तरण गरिएको प्रहरीको विवरण छ । म्याग्दी सदरमुकाम जोड्ने अधिकांश सडक अवरुद्ध छन् । सदरमुकाम बेनीदेखि पश्चिम दरवाङ हुँदै जलजला जाने सडकको बेनी नगरपालिका ४ सिंगा तातोपानीसम्म सञ्चालनमा आएको छ ।

बेनी जोमसोम सडक खण्डको बेनीदेखि गलेश्वर सम्ममात्रै अहिले सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताए । बेनी बागलुङ सडक खण्ड साना सवारीसाधन सञ्चालन हुने गरी मंगलबार बिहानदेखि खुलेको छ ।

मालढुंगा बेनी सडक खण्ड अझै बन्द छ । विद्युत सेवा बेनी बजार, रत्नेचौर र अर्थुङ्गेमा सुरु भएको छ भने सञ्चार पनि यही क्षेत्रमा मात्रै छ । पश्चिम म्याग्दीको दरवाङ क्षेत्रमा सञ्चार सेवा सञ्चालनका लागि इलाका प्रहरी कार्यालय दरवाङका इन्सपेक्टर रवीन्द्र कार्कीले टेलिकम विटिएसको साँचो र इन्धन लिएर गएका छन् ।

वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि स्थानीय र प्रहरीको सहयोगमा उद्धार तथा राहत वितरणको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरबाट ११ गते ७८ जना र १२ गते २८ जना गरी १०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेको भनाइ छ ।

सेनाको हेलिकोप्टरबाट दुई दिनमा गरी खाद्य तथा गैरखाद्य सामग्री गरी करिब १ हजार ६ सय केजी राहत सामग्री अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान र मंगला गाउँपालिकाको छिस्वाङमा पठाइएको छ । जिल्लाका अधिकांश भूभागमा पुगेको विद्युत सेवा वर्षाले गर्दा अवरुद्ध छ ।

राहत सामग्रीसहित म्याग्दीका प्रभावित क्षेत्र जाँदै नेपाली सेनाको हेलिकोप्टर । तस्बिर ः अमृत बास्कुने

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->