तस्बिर : विजय राना
म्याग्दी/बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ। पर्वतको कुश्मा नगरपालिका –१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो ।
यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या भएको थियो । सडक मर्मत भएसँगै असोज १० गते रातिदेखि अवरुद्ध बेनी–पोखरा सडक बुधबार साँझदेखि सञ्चालनमा आएको हो। म्याग्दीको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनीको पोखरासँग पाँच दिनपछि सिधा यातायात सम्पर्क जोडिएको बताए । मध्यपहाडी लोकमार्ग आयोजनाले पर्वतको सहश्रधारासम्म मर्मत गरेको छ ।
यस्तै, कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजनाले मालढुङ्गा–बेनी खण्डको सडक मर्मत गरेपछि एकतर्फी रुपमा यातायातका साधन सञ्चालन हुन थालेको प्रनाउ कार्कीले बताए । मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ मा पर्ने केराबारी र लामाबगर क्षेत्रको पहिरो पन्छाएपछि बेनीदेखि पोखरा सवारीसाधन चल्न थालेका हुन् ।
मालढुङ्गामा रहेको सडक पुलको पहुँचमार्ग कालीगण्डकीको बाढीले बगाएकाले असोज ११ गतेयता बागलुङ जिल्लाको पनि प्रदेश र सङ्घीय राजधानी काठमाडौँसँग यातायात सम्पर्क टुटेको छ । सडक डिभिजन कार्यालयले मालढुङ्गाको पुल मर्मत थालेको छ । बाढी पहिरोका कारण बेनीदेखि मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडक खुलाउन आवश्यक प्रयास भइरहेको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जोमसोमदेखि घाँसा हुँदै म्याग्दीको भुरुङ्ग–तातोपानीसम्मको सडक मर्मत भएको र बेनीदेखि गलेश्वरसम्म पनि यातायात सञ्चालन भएको बताए । पोखरा–बेनी यातायात सम्पर्क स्थापित भएपछि इन्धन ढुवानी गर्न सहज भएको छ । यस्तै, अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण परिचालनका लागि सहज भएको प्रजिअ गैरेले बताए । रासस





