म्याग्दी/गएराति बेनी बजारको न्यूरोड क्षेत्रमा पहिरो जाँदा १५ घरमा क्षति पुगेको छ । राति करिब १० बजे पहिरो खसेपछि न्यूरोड आसपासका घर तथा संरचनामा क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । पहिरोका कारण प्रभावित क्षेत्रमा थप जोखिम बढाएको छ ।
नगर प्रमुख केसीका अनुसार, पहिरोबाट क्षति पुगेका घर तथा प्रभावित परिवारको अवस्थाबारे स्थलगत रूपमा विवरण संकलन भइरहेको छ । पहिरोले पु¥याएको क्षतिको यकिन विवरण संकलन गर्ने तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारी भइरहेको केसीले जानकारी दिए ।
रातिको समयमा पहिरो खसेकाले स्थानीयवासी त्रसित बनेका थिए । जोखिममा रहेका परिवार राति नै सुरक्षित स्थानमा सरेको तथा पहिरो थप खस्न सक्ने सम्भावित क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । घटनास्थलमा स्थानीय तह तथा सरकारी निकायबाट आवश्यक व्यवस्थापन र उद्धारको काम भइरहेको छ ।





