पर्वत/स्थापनाको करिब ३८ बर्षपछि जिल्ला खेलकुद विकास समिति पर्वतले आफ्नै कार्यालय पाएको छ ।
वि.सं. २०४६ सालमा प्रमुख जिल्ला अधिकारीको मातहतमा रहेको समिति २०६४ सालबाट आम नागरिकको नेतृत्वमा पुगेको थियो । वि.सं. २०६० सालसम्म प्रमुख जिल्ला अधिकारीमार्फत समितिका गतिविधिहरू हुने गरेको भए पनि २०६४ सालबाट आम नागरिकले समितिको नेतृत्व गर्न थालेको थिए । स्थापनाको लामो समय हुँदा पनि आफ्नो कार्यालय नहुँदा कहिले भाडाको घरमा त कहिले ब्याडमिन्टन खेल्ने कभर्ड हलको कुनामा थन्किएको कार्यालय अब भने आफ्नै भवनबाट सञ्चालनमा आएको हो ।
करिब १५ लाख रुपैयाँ लागतमा भवन बनेपछि औपचारिक रूपमा जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जङ्गबहादुर पुन (बुद्ध)बाट उद्घाटन गरेर कार्यालयले आफ्नै भवनबाट खेलकुद गतिविधिहरू अघि बढाएको हो । गण्डकी खेलकुद परिषद्बाट छ लाख, पूर्वाधार विकास कार्यालय पर्वतबाट चार लाख र मोदी गाउँपालिकाबाट प्राप्त भएको डेढ लाख रुपैयाँ सहित अपुग रहेको साढे तीन लाख रुपैयाँको लागतमा भवन बनेको हो ।
कुश्मा नगरपालिका–५ बडागाउँस्थित सशस्त्र प्रहरी बलको गण नजिकै रहेको कभर्ड हलको बाहिर पट्टीको भागमा बनेको भवनको शनिवार समितिका अध्यक्ष पुनले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले लामो समयसम्म भाडाको घरमा बसेर कार्यालय चलाएको भए पनि अब भने समितिले खुलेर आफ्ना गतिविधिहरू सञ्चालन गर्न पाउने बताए । विभिन्न औपचारिक कार्यक्रममा अतिथि हुनेदेखि भाषण गर्नेहरूले खेलकुदको महत्त्व ठुलो रहेको बताए पनि यस क्षेत्रमा आवश्यक बजेट विनियोजन नहुँदा खेल गतिविधिहरू काम चलाऊ अवस्थामा रहेको उनको भनाइ छ ।
‘सरकारले आयोजना गर्ने प्रतियोगिता वा खेल गतिविधिहरू बाहेक हामी आफैले आयोजना गरेर भव्य कार्यक्रम गर्न सक्ने अवस्था नै छैन । हामीसँग बजेट आउने भए त विद्यार्थीदेखि युवा पुस्ताका लागि पनि प्रतियोगिताको आयोजना गर्ने थियौँ’, उनले भने, ‘१५ लाखमै भए पनि यत्तिको घर त बनाउन सकेका छौँ, त्यही पनि सबै रकम पुगेको अवस्था छैन । प्रदेशदेखि स्थानीय सरकारबाट भएको केही सहयोगले यत्तिको भएको छ ।’
कार्यालय प्रमुख जगदीश कुँवरका अनुसार पछिल्ला केही वर्षयता कार्यालय सञ्चालनका लागि प्रदेशबाट वार्षिक ७२ हजार रुपैयाँ बजेट आउने गरेको थियो । यही रकम पनि बिचमा छ महिनासम्म रोकिएपछि भाडाको घरबाट कार्यालयलाई बडागाउँमा रहेको ब्याडमिन्टनको कभर्ड हलमा सारिएको थियो । ‘अघिल्लो वर्षमा प्रदेशबाट निरन्तर भाडा खर्च दिन नसक्ने र हामीले जिल्लामा खाली रहेका कुनै सरकारी भवनमा कार्यालय व्यवस्थापन गर्नुपर्ने भन्ने आयो’, उनले भने, ‘हामीले तत्कालका लागि भने जसरी नै कार्यालय पाउन सकेनौँ । अन्ततः अघिल्लो वर्षको राष्ट्रपति रनिङ शिल्डलगत्तै कभर्ड हलको एउटा कुनामा सामान राखेर कार्यालय चलायौँ ।’
प्रमुख जिल्ला अधिकारी मातहत रहेको समिति २०६५ सालमा जनताको नेतृत्वमा आएपछि तत्कालीन नेतृत्व देवेन्द्रराज पाण्डेले गरेका थिए । त्यसपछि शिव पौडेल, लोकबहादुर राना, प्रेम गुरुङ र हर्कमान गुरुङले समितिको नेतृत्व सम्हालेका थिए ।
शनिवार कार्यालयको उद्घाटन कार्यक्रमकै अवसर पारेर समितिले दुई वटा खेलकुद सङ्घलाई खेल सामग्री समेत हस्तान्तरण गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीबाट जिल्ला खेलकुद विकास समितिलाई प्राप्त भएकामध्ये तेक्वान्दो सङ्घ पर्वतलाई ११७ थान र कराँते सङ्घ पर्वतलाई ८० थान ‘म्याट’ हस्तान्तरण गरिएको हो ।
भवनको उद्घाटन कार्यक्रममा जिल्लामा रहेका खेलकुदका विभिन्न सङ्घ तथा सङ्गठनहरू, खेलाडीहरू सहित उद्योग वाणिज्य सङ्घ पर्वतका पूर्व अध्यक्ष मीन प्रसाद श्रेष्ठ र हरि ओम शर्मा लामिछाने लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मीनप्रसाद श्रेष्ठले खेलकुद क्षेत्र बजारलाई चलायमान बनाउने आधार समेत भएको बताए ।
जिल्लामा हुने विभिन्न खेलकुद गतिविधिहरूले होटेल व्यवसायदेखि अन्य क्षेत्रलाई पनि सहयोग पुग्ने उनको भनाइ छ । सोही अवसरमा भवनको निर्माणमा अथक मिहिनेत गरेका तीन जनालाई सम्मान पनि गरिएको छ । लामो समयदेखि कार्यालय प्रमुखको रूपमा रहेर जिल्लामा खेलको विकासमा गरेको योगदानको कदर गर्दै कार्यालय प्रमुख जगदीश कुँवर तथा भवन निर्माणमा सहयोग गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका पूर्व प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङ र प्रहरी वरिष्ठ हवलदार लालबहादुर रानालाई सम्मान गरिएको हो ।





