शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुलुकको परिस्थिति देखेर कहिलेकाहीं खेती गर्न मन लाग्छ- प्रचण्ड

मुलुकको परिस्थिति देखेर कहिलेकाहीं खेती गर्न मन लाग्छ- प्रचण्ड

'युवाहरु विदेश जान तँछाड र मछाड गरेका छन्। गाउँमै बसेर समूहमा खेती गर्ने हो भने आफूलाई मात्रै होइन अरुलाई पनि रोजगारी सिर्जना गर्न सकिन्छ'


  • Dhorpatan News
  • फाल्गुन ११ २०७५, शनिबार

काठमाडौं, ११ फागुन – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो परिस्थितिबाट दिक्क लाग्दा खेती गर्न मन लाग्ने गरेको बताएका छन् । सुनको टुक्राजस्तो खेतीयोग्य जमिन बाँझो छाडेर युवाहरु विदेश जान तँछाडमछाड गर्दा आफूलाई दिक्क लाग्ने गरेको उनले बताए ।’युवाहरु विदेश जान तँछाड र मछाड गरेका छन्। गाउँमै बसेर समूहमा खेती गर्ने हो भने आफूलाई मात्रै होइन अरुलाई पनि रोजगारी सिर्जना गर्न सकिन्छ,’ भक्तपुरको गठ्ठाघरमा भक्तपुर तरकारी तथा फलफूल बजारको शनिबार उद्घाटन गर्दै दाहालले भने, ‘कहिलेकाहीं त परिस्थिति देखेर बडो दिक्क लाग्छ। यो सबै छाडेर आफैं खेती गर्न हिँडौजस्तो पनि लाग्छ।’ युवाहरुमा देशभित्रै केही गरौं भन्ने भावनाभन्दा पनि विदेश गएर पैसा कमाउने भन्नेमा ध्यानकेन्द्रित भएको उनको आरोप छ। ‘जमिन आफ्नै छ, श्रम शक्ति पनि छ। त्यसमा मेहनत गरेका छैनन्। खाडी जान मेहनत गरिरहेका छौं,’ उनले भने,’ आफ्नै जमिनमा टेकेर त्यहाँ विविधा ल्याउन जाँगर गर्ने हो भने देश आत्मनिर्भर हुन्छ। त्यसैले आफ्नो जमिन र सिपको सदुपयोग गरेर देशभित्रै लाग्नुस्।’

भक्तपुर तरकारी तथा फलफूल तरकारी बजार खुलेर उपभोक्ताले सस्तो र ताजा तरकारी पनि पाउने उनले बताए। बजार सानो भए पनि यसको उद्देश्यले कृषक, उपभोक्ता र युवाहरुलाई आकर्षित गर्ने दाहालले बताए। ‘हेर्दा तरकारी बजारको काम सानो छ,’ उनले भने, ‘मनसाय, विचार, संस्कार ठूलो छ। यो आकारमा सानो भए पनि यसले सन्देश चाहिँ ठूला दिन्छ।’ कृषिर्लाई व्यवसायको रुपमा लिने संस्कार नभएसम्म देशको समृद्धि नहुने उनले बताए। यस्तो बजारले उत्पादक, उपभोक्तालाई फाइदा गर्ने बताए। यस्तो बजार भक्तपुरमा मात्रै होइन, अन्यत्र पनि बिस्तार गर्नु पर्ने उनले बताए।
बालकोटका श्यामसुन्दर बस्नेतको ६ करोडको लगानीमा गठ्ठाघरमा ८ रोपनी जग्गामा यो तरकारी बजार सञ्चालनमा ल्याएको हो। १ सय ३० वटा सटर र १ सय ५० सटर रहेको यो बजारमा तरकार, फलफूल, जिउँदो माछा, मासु होलसेल र खुद्रा बिक्री सुरु भएको छ। ‘हामी आफ्नो जीवनको समीक्षा गर्दै यस्तो व्यवसाय सुरुआत गरौं,’ दाहालले भने, ‘लाखौं युवाले देशभित्रै केही गर्न सकिन्छ भनेर यो बजार नमुना हुन सक्छ।’ कृषिमन्त्री चक्रपाणि खनालले कालिमाटी बजारको विकल्पको रुपमा सयौ यस्तो बजारको आवश्यक रहेको बताए। ‘तरकारी बजार व्यवस्थापनको वैकल्पिक बाटो हामी खोजिरहेका छौं,’ उनले भने, ‘सरकारले पनि अनुदान दिएर बजार विस्तार गरिरहेको छ। निजी क्षेत्रले यस्तो बजार विस्तार गर्नु स्वागतयोग्य छ।’ बजार सञ्चालक श्याम बस्नेतले बिचौलियाको अन्त्य गरी कृषकले उत्पादन गरेको तरकारी उपभोक्ताले सस्तोमा पाउने उद्देश्य यो बजारले पूरा गर्ने बताए। ‘कृषकले लागत मूल्य पाउने र उपभोक्ताले अन्य बजारको भन्दा सस्तोमा उपलब्ध गराउने गरी बजार सुरु भएको छ,’ उनले भने, ‘हाम्रो सत्रु बिचौलिया हो।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->