शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना, पर्यटनमन्त्रीसहित ७ को मृत्यु

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना, पर्यटनमन्त्रीसहित ७ को मृत्यु


  • Dhorpatan News
  • फाल्गुन १५ २०७५, बुधबार

पोखरा, १५ फागुन – ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ। एयर डाइनेस्टी हेली सर्भिसको हेलिकप्टर एएस ३५० दुर्घटनामा परेको हो। ‘हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको छ। ६ जनाको शव फेला परेको छ’, नेपाल प्रहरी, प्रदेश १ का प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले भने, ‘शवहरू जलेको अवस्थामा भेटिएका छन्। क्षतविक्षत रहेकाले शव पहिचान गर्न कठिन छ।’ काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि उडेको कल साइन अल्फा माइक इन्डिया (एएमआई) हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो।
ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकप्टर दुर्घटना भएको जानकारी दिइन्। दुर्घटनास्थलमा शव डढेका कारण पहिचान हुन नसकेको उनले बताइन्। दुर्घटनास्थल फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ। दुर्घटनास्थल ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्र रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार दिउँसाे १:३० बजे हेलिकाेप्टर बम विस्फोट भएजसरी पड्किएर खसेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा दुर्घटना भएको हो। घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार पहल गरिरहेको सहायक प्रजिअ राईले जानकारी दिइन्। हेलिकोप्टरमा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार थिए। हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। उनीहरू सबैको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->