बागलुङ, २६ फागुन – कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संवैधानिक समस्या बल्झाउने खेलमा लागेको आरोप लगाएका छन् । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोध सभामा बोल्दै उनले प्रतिपक्ष दलबिनाको संवैधानिक परिषद्को बैठक बस्ने, प्रतिपक्षविहीन संसद्झै एकाधिकार र निरंकुशतामा लागेको आरोप लगाए । चिकित्सा शिक्षा विधेयकलगायत दर्जनौं घटनामा सरकारले संविधान कुल्चेको आरोपसमेत उनले लगाए । ‘हामीले संवैधानिक समस्या नआओस् भनेरै प्रतिकूलतामा तीन तहको निर्वाचन गरायौं’, देउवाले भने, ‘सहज परिस्थिति आएपछि वर्तमान सरकार संविधानका धारा मिचिरहेको छ ।’ देउवाले प्रेस स्वतन्त्रताविरोधी कानुन ल्याउन सरकार सक्रिय भएको आरोप पनि लगाए ।
ओली सरकारको विरोधमा समय खर्चेका देउवाले हिंसा र दण्डहिनता मौलाउने गरी सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाए । ‘निर्मला हत्याकाण्डसहित धेरै घटनामा अपराधी लुकाउने काम भयो’ देउवाले भने, ‘जनताको आधारभूत आवश्यकता पूरा गर्न नलागेर हावादारी भाषण र उखान भन्दै हिँडेर देश समृद्धिमा जाँदैन ।’ देशव्यापी रुपमा कर बढाएर जनताको ढाड सेकेको भन्दै मूल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरे । सरकारले बारम्बार संविधान कुल्चने प्रयास गरिरहेमा कांग्रेसले सदनबाट सडकमा झर्न सक्ने चेतावनी दिए । देउवाले विरोधका शैलीमा संयम अपनाएर सरकार सच्चियोस् भन्ने चाहेको बताए । कांग्रेसको संयमलाई कमजोरी ठानियो भने सडक संघर्षमा जानुपर्ने उनको टिप्पणी थियो । महासमिति बैठकबाट बनेको विधान नेपालका सबै दलभन्दा अब्बल भएको उनले दाबी गरे । सबै जाति, क्षेत्र र भूगोललाई समावेश गरेर पदाधिकारीमा लैजान सकिने, कम्तीमा ३३ प्रतिशत महिला निर्वाचित हुने प्रावधान आएको बताए ।
कार्यक्रममा कांग्रेसका प्रव्कता विश्वप्रकाश शर्माले सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री फसेको आरोप लगाए । शर्माले प्रधानमन्त्रीको राष्ट्रवाद उदांगो भएको टिप्पणी गरे । उनले कम्प्युनिष्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश चल्न नसक्ने बताए । केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो’ शर्माले भने, ‘जुन विषयमा जनमतसंग्रह गर्नै सकिंदैन भन्ने संविधानमा उल्लेख छ, त्यसैमा लम्पसार पर्नुभयो।’ सरकारले बूढीगण्डकी बिनाप्रतिष्पर्धा चिनियाँ कम्पनीलाई दिएको, रेल र पानी जहाजका लागि विदेशी ऋण खोजेर राष्ट्रियता कमजोर पारेको आरोप पनि लगाए। ‘
श्रीलंकामा चिनियाँ झन्डा फैलिएझैं भोलि नेपालीले रेलको ऋणको नाउमा अर्काको देशको झन्डा गाडिने अवस्था आउन सक्नेछ’ शर्माले भने, ‘विदेशी झन्डा फहराएको देख्नेकी आफ्नै लगानीमा काम गर्ने?’ कांग्रेसले निर्वाचन हारेर नेकपाको खोक्रो राष्ट्रवाद उदांगिएको देख्न पाएको टिप्पणी पनि गरे। दुई तिहाईको सरकार भएकोले ५ वर्षमा काम गरेर देखाउने समय भए पनि एक वर्षमा संकेत दिन नसकेको उनको टिप्पणी थियो। देखिने गरी समृद्धिको जग बसाल्न नसकेको सरकारका कमजोरी देखाउन कांग्रेस जागरण अभियानमा निस्कनु परेको बताए। उनले निजीकरणमा गएकै कारण देशमा लगानी भित्रिएर शिक्षा, स्वास्थ्य र उत्पादन बढेको दाबी गरे।




