पोखरा, ९ चैत – आइतबारबाट शुरु हुने एसईई परीक्षामा अभिनेत्री तथा नयाँ शक्ति पार्टीकी नेत्री करिश्मा मानन्धर पनि सहभागी हुने भएकी छन्। त्रिवेणी माध्यामिक विद्यालय, मैतिदेवी काठमाडौंबाट एसईईमा सहभागी हुन लागेको ४५ वर्षीया अभिनेत्री मानन्धरको परीक्षा केन्द्र विजय स्मारक विद्यालय डिल्लीबजारमा परेको छ। औपचारिक शिक्षाको महत्व बुझेपछि ढलै भए पनि अध्ययन गर्नुपर्छ भन्ने लागेका कारण विद्यालय भर्ना भएको प्रतिक्रिया दिँदै आएकी मानन्धरले एसईईका लागि कडा मेहनत गरेकी छन्।
पछिल्लो समय उनी एसईईको तयारीकै लागि भनेर पार्टी र सिनेमा दुवैतिरका कार्यक्रममा कमै देखिँदै आएकी थिइन्। जसरी पनि एसईई पास गर्ने उद्देश्य लिएकी उनी त्यसका लागि ट्युसन र कोचिङ कलास समेत लिँदै आएकी थिइन्।काठमाडौँ जिल्लाको एसईईको सम्पूर्ण तयारी सकिएको काठमाडौँका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बताए। उनले काठमाडौँबाट एसईई परीक्षामा सहभागी हुने ३७ हजार ५२८ विद्यार्थीका लागि ११२ केन्द्र तोकिएको जानकारी दिए। ‘परीक्षको सम्पूर्ण तयारी पूरा भएको छ’, नेपालखबरसँग कुरा गर्दै जिल्ला शिक्षा अधिकारी पौडेलले भने, ‘निर्धारित समयमै, अनुशाशित र मर्यादित रुपमा परीक्षा सञ्चालन गर्छौँ।’




