बागलुङ, १७ चैत -वित्तीय सेवासंगै समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका सहकारीहरुले पछिल्लो समय पर्यटन प्रवद्र्धनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् । सहकारी संस्थाहरुले पर्यटन प्रवद्र्धन उपसमिति गठन गरी कार्यक्रम सञ्चालनका लागि सहकारीहरुबीच अध्ययन अवलोकनका कार्यक्रम गरेर आन्तरिक पर्यटनमा प्रभावकारी भूमिका खेल्दै गएको व्यवसायीहरुले बताएका छन् ।
६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभरका सहकारीहरुले सहकारी सचेतना लगायत सामाजिक तथा सांस्कृतिक रुपान्तरण र मानवीय सेवाका कामहरु गरिरहेका छन् । चैत २० गते ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।
यसै सन्दर्भमा बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले जिल्लाकै पहिलो होम स्टेका सञ्चालकहरुलाई एक दिने सहकारी सचेतना तथा सहकारीमार्फत पर्यटन प्रवर्धन सम्बन्धी सचेतना प्रदान गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित जिल्लाकै पहिलो होम स्टे ‘अतिथि सत्कार होम स्टे’ का सञ्चालक, मिलिजुली महिला समुहका सदस्य र आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्यहरुलाई आइतबार सहकारी सचेतना तथा सहकारी मार्फत पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दैं मिलिजुली महिला समुहका अध्यक्ष ईन्द्रा थापाले महिलाहरुलाई व्यवसायिक बनाउँनको लागि सहकारी सचेतना कार्यक्रम प्रभावकारी हुने बताईन । उनले पछिल्लो समय भकुण्डेका महिलाहरु होम स्टे सञ्चालन र स्थानीय उत्पादनको बजारीकरणले व्यवासय उन्मुख बन्न थालेको भन्दैं यस्तो अवस्थामा सहकारीले आयोजना गरेको सचेतना कार्यक्रमले बचतको महत्वको बारेमा जानकारी भएको बताईन ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्य उमाकान्त शर्माले राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना मन्तव्य गरेका थिए। संस्थाका सह सम्पादक सिर्जना पन्तले कार्यक्रमको सहजीकण गर्दै २०६३ सालमा साविक धौलागिरि अञ्चलमै पहिलो सञ्चार सहकारीको रुपमा स्थापना भएको आदर्श सञ्चार सहकारीले धौलागिरि जागरण दैनिक पत्रिका र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन सँगैं वित्तीय तथा सामाजिक गतिविधि गर्दै आएको जानकारी दिईन ।





