बागलुङ, १८ चैत – बडिगाड गाउँपालिकाको र जिल्लाकै बिकट गाउँ रणसिंकिटेनीमा सडक लैजाने तयारी भएको छ । गाउँपालिकाले रणसिंकिटेनीमा सडक पु¥याउने कामलाई गाउँपालिका स्तरीय गौरवको आयोजनाको नाम समेत दिएको हो । स्थानीय तहकै लगानीमा हरेक वडामा सडक पु¥याउने लक्ष अनुसार अहिले सम्म सडकले नछोएको यो गाउँमा सडक लैजाने काम चुनौती पूर्ण समेत भएको अध्यक्ष मेयरसिंह पाइजाले बताए । चालु बर्षभित्र सबै वडामा सडकको ट्रयाक पु¥याउने गाउँपालिकाको योजना छ । आगामी बर्ष स्तरउन्नती गरेर वडा वडामा जिपको यात्रा गर्न सकिने बनाइने उनले बताए ।
रणसिंकिटेनी बडिगाडको वडा नं. ८ हो । यहाँ पुग्न सडक अभावमा घण्टौ पैदल हिड्नुपर्ने बाध्यता छ । त्यहाँ पुग्न जलजला र भीमगिठे तर्फबाट सडक लैजाने तयारी भैरहेको हो । चालु बर्ष वडा कार्यालय सम्मको ट्रयाक खुलाईयो भने अर्को बर्ष बस्ती सम्म लैजान सकिने उनले बताए । खनिएको ट्रयाक व्यवस्थित बनाएर स्थानीयलाई जिपमा यात्रा गर्न सक्ने बनाउने योजना बनाइएको हो । गाउँपालिकाले चालु बर्षको ४७ करोड ४१ लाख बजेट मध्ये ५० प्रतिशत पूजिगत बजेटमा लगाएको छ । वडा स्तरीय गौरवका योजना बनाएर वडा नं. ३ सिसाखानी र वडा नं. १० दर्लिङलाई पनि सडक संजालमा ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए । ‘क्रमागत रुपमा सम्पन्न गर्ने गरी एक वडाको एकवटा गौरवको आयोजनाको डिपिआर बनाउन लागिएको छ’ सुवेदीले भने, ‘वडाले पास गरेर ल्याएको पहिलो योजनालाई गाउँसभाले पनि पहिलो प्राथमिकतामै पुरा गर्ने निर्णय गरेको छ ।’ अन्य वडामा सडकले छोएपनि वडा कार्यालय सम्म लैजाने तरखर भएको हो । रणसिंकिटेनीमा भने अझै १ किमी सडकको ट्रयाक खुलेपछि मात्र वडा जोडिनेछ ।
गौरवको आयोजनामा सूचिकृत भएको योजनालाई न्युनतम २ करोड लगानी गर्ने नीति लिइएको पाईजाले बताए । तीनवटा वडामा भने गाउँपालिकाले पनि सडकलाईनै पहिलो प्राथमिकतामा राख्न आग्रह गरेपछि वडाभेलाले पनि सडक पास गरेर ल्याएका छन् । ती योजनामा दुइकरोडको दरले लगानी गरेर चालुबर्षदेखिनै काम थालिने भएको हो । ती वडाका सबै बस्तीमा सडक लैजाँदा बीसकरोड बढी खर्च हुन सक्ने अनुमान गरिएको छ । वडा नं. ५ रहेको ग्वालीचौरले भने भानुक्याम्पसलाई गौरवको आयोजनामा समावेश गरेको छ । कृषि र भेटेनरी पढाई हुने गरी बनाउन लागिएको क्याम्पस पुरा गर्न २१ करोड रुपैयाँको लागत लाग्ने अनुमान छ ।
डीपीआर बनाइएको यो योजनाका लागि चालु बर्ष १ करोड बिनियोजन भैसकेको हो । गाउँसभाले वडिगाड गाउँपालिकामा ४ प्रकारको सडक मापदण्ड बनाएको छ । मुख्य सडकमा १२ मीटर, सहायक सडक भए १० मीटर कायम भएको हो । त्यस्तै वडा तहका मुख्य सडक भए ८ मीटर र सहायक सडक भए ६ मीटरको सडक बनाउने नीति बनाइएको सुवेदीले बताए । ‘मापदण्ड कडाईका साथ लागू गर्ने निर्णय भएको छ’ सुवेदीले भने, ‘समयमै सडकको मापदण्ड लागू गर्न सकियो भने मात्र पछि बन्ने संरचना व्यवस्थित बन्नेछन् ।’ वडिगाडखोलामा पक्की पुल बनेकोले पछाडि परेको दर्लिङमा पनि सडक मापदण्ड अनुसारको काम थालिएको हो । वडिगाडकै हाँडीखोला देखि खल्टुबोट सम्मको खण्डमा भने मध्यपहाडी लोकमार्गको खण्ड पर्छ । उक्त खण्डमा गाउँपालिकाले मापदण्ड बनाएको छैन । राष्ट्रिय गौरवको आयोजनामा लागू हुने मापदण्ड अनुसारकै संरचना बनाउन गाउँपालिकाले सहमति दिएको छ । स्थानीयले पनि सोही अनुसारका संरचना बनाउन थालिसकेका छन् ।





