शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुर्तिवाङ सहर :अलमलले अलपत्र

बुर्तिवाङ सहर :अलमलले अलपत्र


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७५, मंगलबार

बागलुङ ,१९ चैत -ढोरपाटन नगरपालिकाको बुर्तिवाङ सहर सरकारको नमूना शहरमा सूचिकृत छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गका दश सहरलाई व्यवस्थित र नमूना बनाउने सरकारी योजनामा समेटिएको बुर्तिवाङमा काम भने सोचेजस्तो भएको छैन । केन्द्र्रीय बजेट र कार्यक्रम मार्फत संचालित नमूना सहरी आयोजना र नगरपालिका कसले काम गर्ने भनेर अलमल हुँदा काम अलपत्र भएको हो ।
दुई निकायबीच क्षेत्राधिकारको समस्या पनि छ । नगरभित्रको ढल निकास र सडक चाक्लो बनाउने व्यवस्थित बसपार्क जस्ता काम अगाडि बढ्न नसकेको हो । सहरी आयोजनाले डीपीआर बनाएर पनि काम नगरेको नगरप्रमुख देव नेपालीको आरोप छ । नगरले लगानी गर्न नमिल्ने र आयोजनाले काम नगर्दा सडक बिस्तार, ढल निकास र फोहोरमैला व्यवस्थापनको काममा बढी समस्या भएको नेपालीले टिप्पणी गरे ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमार्फत व्यवस्थित र स्मार्ट सिटी बनाउने अभियान पा“चबर्ष अघिनै सुरु भैसकेको हो । सहरी बिकास तथा भवन कार्यालय मार्फत करोडौंको बजेट भएपनि काम ढीला भएको हो । आयोजनाका अनुसार कम्तिमा १ लाख जनसंख्यालाई व्यवस्थित शहरमा राख्ने लक्ष छ । तर हालको ३० हजार जनसंख्या रहेको नगरलाई समेत कसरी व्यवस्थित बनाउने भन्ने तयारी नभएको नेपालीले टिप्पणी गरे ।
मुख्य बजार भित्र खाल्डाखुल्डी, फोहोर पानी सडकमै बग्ने र फोहोरमैला बढी देखिन्छ । सडक, खानेपानी, विद्युत, उद्योग, व्यवसाय स्थापना र संचालन गर्ने आयोजनाको लक्ष हो । २०८० साल सम्ममा यो सहर व्यवस्थित र स्मार्ट सिटी बन्नुपर्ने सरकारी लक्ष भेट्न कामै नभएको स्थानीयको पनि गुनासो छ ।
हालको बसपार्क अतिक्रमणमा परेपछि छुट्टै स्थान खोजेर सार्ने तयारी पनि पुरा भएको छैन । ‘हामीले केही जग्गा व्यस्थापन गरिसकेका छौं, थप्ने प्रयासमा छौं’ आयोजनाका प्रमुख आशिष अधिकारीले भने, ‘उपभोक्ता मार्फत गर्ने काम होइन, ठेक्का लगाउने प्रकृयाले ढीलाई भएको हो ।’ चालु बर्षका लागि २५ करोड रुपैया“को पूर्वाधार काम गर्न ठेक्का प्रकृया शुरु भएको उनले बताए ।
‘धेरै काम छ, असार सम्म प्रकृया टुंगो लागेपछि मात्र काम देखिन्छ’ उनले भने, ‘नगर भित्रको ढल व्यवस्थापन र सरसफाईमा भने मिलेर काम गर्नुपर्नेछ ।’ तत्कालको आवस्यकतामा नगरपालिकाले र दिर्घकालिन योजना आयोजनाबाट गर्ने उनले बताए । आयोजनाले गर्ने भनेको मुख्य सडकहरुको सुधार कार्यक्रम पनि अगाडि बढ्न सकेको छैन ।
नगरपालिकाले भने भवरेटा, छरछरे लगायतका टोल जाने सडकको काम समेत शुरु नभएको हो । टारी कुतथाप्ला सडक पनि आयोजनाबाट गर्ने भनिएपनि काम नभएपछि यात्रीले सास्ती खेपेका छन् । ती सडक समयमा मर्मत नगरे बर्षातमा बजार क्षेत्रमा पहिरो खस्ने खतरा बढी छ । खानेपानी आयोजना संचालन नभएपछि नगरपालिकाले छुट्टै योजना अगाडि सारेको छ ।
प्रदेश सरकारको साझेदारीमा योजना निर्माणको काम थालिएको हो । यो आयोजनामा डेढकरोड खर्च गर्ने लक्ष राखिएको छ । अधिकारीले भवरेटा सडकमा कल्भर्ट निर्माणको काम बर्षात अघिनै गर्ने बताए । अन्य पूर्वाधारका लागि भने केही बर्ष लाग्ने उनको भनाई छ । आयोजनाबाट ढीलई हुने भएपछि नगरपालिकाले यहा“को प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा बिकास गर्ने पहल थालेको छ । बजेट समेत बिनियोजन गरेर अपरेसन सहितको सेवा बिस्तार गर्न स्वास्थ्यकर्मी खटाएको उनले बताए ।
आयोजनाले पक्की तटबन्ध, व्यवस्थित ढल निकास र सरसफाईका कार्यक्रम गर्नुपर्नेमा काम अलपत्र पारेको नेपालीले आरोप लगाए । आयोजना मार्फत १ हजार रोपनी जमिन खरिद गर्ने, त्यहा“ व्यवस्थित बस्ती बिकासको नमूना र काम गर्ने योजना अझै पुरा नभएको हो । अहिले सम्म १ सय रोपनी जमिन मात्र खरिद गरेको अधिकारीले बताए ।
नगरपालिका र परियोजनाको क्षेत्राधिकार बिबादले काम ढीलाई भएको उनले स्विकारे । नगर प्रमुख नेपालीले भने सहकार्य गर्दा ४ महिनामा सकिने काम बर्षौदेखि अलपत्र भएको आरोप लगाए । ‘बजार क्षेत्रमा ढल निकास र कालोपत्रे पहिलो चरणमा गर्न दवाव दिएको छु’ नेपालीले भने, ‘कामको बाहनामा मन्त्रालय धाउने प्रवृत्ति बढी छ ।’ बजारको आर्कषण दिन नसक्दा गरेका धेरै काम ओझेलमा परेको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->