बागलुङ,२० चैत – मध्यपहाडी लोकमार्गमा बागलुङ जिल्लाको सबैभन्दा धेरै क्षेत्र पर्छ । राष्ट्रिय गौरवको आयोजना भएकोले तोकिएको मापदण्ड हुन्छ । प्राय ठूला सडकमा २५ मीटरको दरले दायाँबायाँ जग्गा छाड्नुपर्ने व्यवस्था छ । तर पटक पटकका प्राविधिकले फरक फरक कुरा बोलिदिंदा स्थानीय बासिन्दा मर्कामा पर्ने गरेको गुनासो बढेको छ
बिशेषगरी निसीखोला गाउँपालिकामा यो समस्या बढी देखिएको छ । निसीखोला गाउँपालिका ४ का महेन्द्र चन्दले आफ्नो घरछेउको मापदण्ड पहिला १५ मीटर र पछि २५ मीटर बनाईदा मर्कामा परेको गुनासो गरे । बुर्तिवाङ देखि निसी जाने यो खण्ड पहिला ग्रामीण सडकको रुपमा थियो । लोकमार्ग आयोजना कार्यालयले यो सडकलाई आफ्नो मातहतमा ल्याएर काम थालेपछि चन्द जस्तै धेरैको घर मापदण्डमा परेको छ । उनीहरुले मुआब्जा पाउने कुरा अन्यौलमा परेको छ । मूल्यांकनबाट ७ लाखको मूल्यमा परेको यो घर भत्काएर अन्यत्र बनाउनु पर्दा दोब्बर खर्च हुन्छ । भनेकै स्थानमा घडेरी पाउने समस्या र बनाउने सास्तीले उनीहरु छाडेर मधेस सर्ने योजनामा छन् ।
निसीखोला गाउ“पालिकाका धेरै बस्तीमा अब मध्यपहाडी लोकमार्गको मापदण्डले समस्या ल्याउन लागेको गाउ“पालिका अध्यक्ष तारानाथ पौडेलले बताए । फरक फरक स्थानमा फरक फरक मापदण्डले स्थानीय बासिन्दा चिन्तित भएका छन् । ‘शुरुमा १५ मीटर सम्म मापदण्ड हुन्छ भन्ने बुझेर धेरैले घर बनाए अहिले २५ मीटर भनिएको छ’ स्थानीय खिमबिक्रम शाहीले भने, ‘बनेका घर भत्काएर दुइचार लाख दिने मुआब्जाले केही काम बन्दैन ।’ मध्यपहाडीको कतिपय स्थानमा ३१ मीटर सम्म मापदण्ड तोकेको हल्लाले स्थानीय त्रसिद छन् ।
निर्माणाधिन सडक पटक पटक आउने प्राविधिकले फरक मापदण्ड बताएपछि स्थानीय चिन्तामा परेका हुन् । ग्रामीण सडकको ट्रयाक खुलेपछि देविस्थान, बोहोरागाउ“, झिम्पा, निसी लगायतका स्थानमा धमाधम बनेका घरहरु १५ मीटरको मापदण्ड भित्रै पर्छन् । हाल १० मीटरको बाटो बनाएको लोकमार्गले तत्काल बढाउने संभावना भने छैन । कतिपयको शुरु मूल्यांकन गरिएका कागजात समेत आयोजनामा नभेटिएपछि चिन्तामा परेका छन् । ‘कति फाल्ने हो, कति राख्ने हो थाहा छैन’ वडा नं. ६ का दलबहादुर बुढाले भने, ‘सडकमा चिया पसल राखेर बस्छु भन्दै झरेकालाई समस्या पर्ने भयो ।’ सडकले यातायातमा सजिलो हुने भन्दै पहाडको टुप्पोमा बसेकाहरु बेसी झर्दै सडक छेउमा घडेरी किनेर बस्न थालेका छन् ।
सडकमा बस्दा बिरामी भए औषधि उपचारका लागि बजार पुग्न सकिने, कृषि फसल बेच्न सकिने आसमा छन् । धेरै किसानले खसीबोका पालेर पनि बसेका छन् । अघिल्लो बर्ष हुल्दी गाउ“मा पहिरो खसेपछि जोखिममा परेका धेरै बासिन्दा सडकछेउमा सुरक्षित बासस्थान खोज्दै झरेका छन् । उनीहरुले सानो घडेरी मात्र किनेका छन् । ती घडेरी मापदण्डमा पर्दा लगानी सबै खेर जाने गुनासो पनि छ । ‘मापदण्ड अनुसारको सडक बनायो भने मेरो घर र खेत समेत सकिन्छ’ स्थानीय जोगलाल कंडेलले भने, ‘बसेका लाई उठीबास लगाएर राजमार्ग आउनुको के अर्थ भयो र ?’ ग्रामीण सडकलाईनै लोकमार्गमा सूचिकृत गरिएकोले सडक १० मीटर भएपनि दाया“बा“याको जमिन खनेर अलपत्र पार्न नहुने उनले गुनासो गरे ।
आयोजनाका ईन्जिनियर सुवास भट्टराईले भने राजमार्ग २५ मीटर हुने बताए । तत्कालका लागि भने १० मीटर मात्र बनाउने गरी शंकरमाली संयुक्त निर्माण कंपनीले काम गरिरहेको छ । गाउ“पालिकाले भने शाखा सडकहरुमा मात्र मापदण्ड बनाउने तयारी गरेको अध्यक्ष तारानाथ पौडेलले बताए । ‘जनताको समस्या बुझेर अव बनाउने सडक र घरटहराको कर लाग्ने कानून बनाउ“छौं’ पौडेलले भने, ‘धुरी कर तिर्ने कुरा भने सबैलाई लागू हुन्छ ।’





