मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरा विश्वविद्यालयबाट झण्डै ६ हजार विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयबाट झण्डै ६ हजार विद्यार्थी दीक्षित

प्रधानमन्त्री आएनन्, सम्बन्धनप्रति कठोर बन्न शिक्षामन्त्रीको निर्देशन


  • Dhorpatan News
  • चैत्र २१ २०७५, बिहिबार

पोखरा, २१ चैत – पोखरा विश्वविद्यालयबाट ५ हजार ८ सय २८ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहको अवसरमा उनीहरुलाई दीक्षित गरिएको हो । दीक्षित हुनेहरुमा पोखरा विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त कलेजका एमफिल, स्नातक र स्नातकोत्तर उत्तीर्ण हुनेहरु रहेका छन् ।
पोखरा विश्वविद्यालयअन्तर्गत हाल ४ आंगिक, ४ संयुक्त आंगिक र ५८ सम्बन्धनप्राप्त महाविद्यालय छन् । आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयमा ५८ कार्यक्रम सञ्चालित छन् भने आंगिक महाविद्यालयमा स्नातक तहमा १४, स्नातकोत्तरमा ११ र विद्यावारिधमा २ गरि २७ कार्यक्रम रहेका छन् ।
विश्वविद्यालयअन्तर्गका व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिकशास्त्र संकायका विद्यार्थीहरुलाई प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले दीक्षित गरे । दीक्षान्त समारोहमा स्नातकोत्तरमा सबैभन्दा उच्चतम अंक ल्याउने २ विद्यार्थीले कुलपति पदक पाए । विज्ञान तथा प्रविधि संकायका सुशील तिमल्सेना र व्यवस्थापन संकायकी दिव्याज्योति पण्डितले ४ सीजीपीए ल्याएर कुलपति पदक पाएका हुन् । स्नातकमा सबैभन्दा उच्चतम अंक ल्याउने प्रनिसा घिसिङले उपकुलपति पदक पाइन् । उनले व्यवस्थापन संकायबाट ३.९७ सीजीपीए ल्याएकी थिइन् ।
व्यवस्थापनको स्नातकोत्तरमा सबैभन्दा उच्चतम अंक ल्याउने दिव्याज्योति पण्डित लक्ष्मी विद्या पदकबाट विभूषित भइन् । स्नातकतर्फ विज्ञान तथा प्रविधी संकाय अन्तर्गत कम्युटर एप्लिकेसनमा उच्च अंक ल्याएर नविनकुमार कलपारले ओसिम स्वर्णपदक पदक प्राप्त गरे । विभिन्न संकायका ४ सय २ विद्यार्थी डीन लिस्टको उपाधिबाट सम्मानित भएका थिए । पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवीप्रसाद शर्माका अनुसार चालु शैक्षिक सत्रमा आंगिकतर्फ २ हजार ३ सय ५७, संयुक्त आंगिकतर्फ १ सय ७९ र सम्बन्धनप्राप्त महाविद्यालयतर्फ ३० हजार बढी विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयबाट हालसम्म ३२ हजार ६० विद्यार्थी दीक्षित भइसकेका छन् ।
प्रधानमन्त्री आएनन्, सम्बन्धनप्रति कठोर बन्न शिक्षामन्त्रीको निर्देशन
दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम थियो । तर, उनले दीक्षान्त समारोहमा उपस्थिति जनाएनन् । विभागीय अर्थात शिक्षामन्त्री गिरिराजमणि पोखरेल दीक्षान्त समारोहमा सहभागि भए । उनले विश्वविद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने बताउँदै सम्बन्धन दिँदा कडाई गर्नुपर्ने बताए । उनले जथाभावी सम्बन्धनमा कडाई गर्न निर्देशन दिए । विश्वविद्यालयका सहकुलपति रहेका मन्त्री पोखरेलले सम्बन्धन दिने र त्यहाँबाट नै विश्वविद्यालयले आम्दानी गर्ने परिपाटीको निन्दा गरे । उनले कलेजका उच्च पदहरु दलीय आधारमा भागबण्डा नगरिने उद्घोष पनि गरे ।‘उपकुलपति, रजिस्ट्रार अब दलीय आधारमा छनोट गर्ने मोडलबाट अगाडि बढ्न सकिँदैन’,उनले भने,‘ ‘अब शैक्षिक क्यालेन्डर लागु गर्ने हाम्रो तयारी छ ।’
समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले शिक्षा धन आर्जनको साधन बनेकोमा चिन्ता जाहेर गरे । उनले शिक्षा पद्धतिलाई सरल बनाउने नाममा यान्त्रिकीकरण गरिएको आरोप पनि लगाए । दिमागभन्दा यन्त्रको बलले काम गर्ने प्रवृत्ति राम्रो नभएको उनको भनाई थियो । नैतिक शिक्षाजस्ता प्राचिनतम मूल्य र मान्यतालाई आत्सात गर्दै आफ्नोपन र पहिचान झल्कने शिक्षा नीति आवश्यक भएकोमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->