पोखरा, २३ चैत – कलाकारद्वय धुर्मुस सुन्तलीले चितवनमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् ।भूकम्पसँगै सामाजिक अभियन्ताको रुपमा उदाएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले ३ अर्बको लागतमा रङ्गशाला बनाउँदै छन्, त्यो पनि सहयोग जुटाएर ।
‘राज्यले गर्नुपर्ने काम व्यक्तिबाट!’ मध्यमाघमा भएको सो घोषणाको चौतर्फी आलोचना र प्रशंसा भयो र हुँदैछ । तीन अर्ब आउँछ कहाँबाट ? यो प्रश्न पेचिलो छ । प्रश्नको उत्तर दिन धुर्मुस र सुन्तलीका आँखाभने विदेशतिर सोझिएका छन् । धुर्मुस–सुन्तलीले रङ्गशाला बनाउने घोषणा गरेको आश्चर्य मानिए पनि रंग्शालाकै लागि विदेशिएका नेपालीको मुख ताकिएको यो पहिलो पटक भने होइन । धुर्मुस–सुन्तलीलाई नै थाहा छ कि छैन कुन्नि !
तर, उनीहरुले खेलकुद मन्त्रीले पोखरामा क्रिकेट रंगशाला बनाउन गरेको आग्रह भने सायदै बिर्सेका होलान्? ४ सय १५ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालाको पर्खाल दाताहरुको सहयोग (चन्दा रुपैयाँ) बाटै बनाइएको हो ।२०३१ सालतिर पोखरामा शंकरराज पाठक अञ्चलाधीश थिए ।पूर्वाधारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको अभियानमा थिए उनी । पोखराका सरकारी कार्यालयलाई जग्गा खोजे, पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको लागि जग्गाको जोगाड गरे। अनि, पोखरा खेलकुदको लागि पोखरा रंगशाला बनाउने भन्दै जग्गा अधिग्रहण गर्न भ्याए ।पाठकले रगंशालाका लागि जग्गा त दिए। तर पूर्वाधार थिएन । र, अहिलेसम्म पनि छैन। कहिले जग्गाधनीको किचलो, कहिले के! रङ्गशाला बस्तुभाउको चरन, गाडी सिकाउन थलो मात्रै रह्यो। संरक्षणको अभावमा ‘भेँडाको मासु’ बनेको रङ्शालालाई कसरी संरक्षण गर्ने त? खेलप्रेमीहरु योजना बनाउँथे। तर कार्यान्वयन गर्न असजिलो !
२०५८ सालतिर भूतपूर्व खेलाडीहरु संगठित भए। । उनीहरुले स्थापना गरेको भूतपूर्व खेलाडी मञ्चले रङ्गशाला संरक्षण गर्ने उपायको खोजी थाल्यो ।‘त्यो बेला जग्गा खुल्ला थियो, अतिक्रमण पनि भएको थियो’, २०६१ सालमा गठन भएको पोखरा रङ्गशाला पर्खाल समितिका संयोजक डा. वीरेन्द्रसिँह गुरुङले सम्झना गरे, ‘सबैको सहयोगले पर्खाल बनाउन सकिन्छ भन्ने सोचियो र सहयोग माग्न थालियो ।’गुरुङले भनेजस्तै ९ सदस्यीय समितिले २०६१ असोजदेखि काम थाल्यो। इञ्जिनियरहरुले ३ हजार ५ सय ३५ फिट लामो, ६ फिट चौडाई र काँडेतारसहित १२ फिट उचाईको पर्खाल बनाउन झण्डै ९० लाख लाग्ने सुनाए । त्यो बेला ९० लाख चन्दा उठाउनु फलामको च्यूरा चपाएजस्तै थियो ।
‘तर तँ आँट, म पु¥याउँछु भनेजस्तो भयो’,तत्कालीन निर्माण समितिका कोषाध्यक्ष बसन्त थकालीले भने, ‘हामीले पर्खाल शिलान्यास गरेको खबर देश(विदेश पुगेपछि उहाँहरुले सदासयता देखाउन थाल्नुभयो ।’
२०६१ माघमा भएको शिलान्याससँगै विदेशमा रहेका पोखरेलीहरुले सहयोगको वचन दिन थाले । बेलायतमा बस्ने पोखरेलीहरुले भेला नै गरेर सूर्य गुरुङको संयोजकत्वमा पर्खाल निर्माण अर्थ सङ्कलन उपसमिति युके गठन गरी सहयोग जुटाउने काम थाले । सूर्य गुरुङको संयोजकत्वमा गठित समितिले ४८ लाख ८१ हजार ७ सय ३५ रुपैयाँ जम्मा गरे ।
‘युकेबाट भएको सो सहयोग नै अहिले देखिएको रंगशालाको पर्खालको जग हो’, भूतपूर्व खेलाडी मञ्च पोखराका वर्तमान अध्यक्ष तेज गुरुङले भने ,‘तमु धीँ एसोसियसन युकेसँग भएको सामिप्यताबाट यो अभियान सम्भव भएको हो ।’तमु धीँ युकेको संयोजनमा त्यहाँ भएको च्यारिटी सोबाट उठेको रकमले मूल गेट निर्माण भएको पनि उनले स्मरण गरे।
गुरुङका अनुसार, युकेमा गठन भएको पर्खाल निर्माण उपसमितिले नेपालीसँग मात्र नभई विदेशीहरुसँग पनि चन्दा संकलन गरेको थियो। तमु धीँ एसोसियसन युकेको ३ लाख रुपैयाँदेखि सेरा गुरुङको व्यक्तिगत १ लाख ५८ हजार मात्र हैन, सक्दो सहयोग गर्नेहरुको लामो फेहरिस्त रहेको उनले सुनाए । उनका अनुसार हङकङबाट १ लाख २१ हजार, युगोस्लाभियाबाट ३२ हजार,युएईबाट १५हजार ८ सय ८१ रुपैयाँ सहयोग पनि रङ्गशालाको पर्खाल ठड्याउन सहयोग आएको छ ।
लागत अनुमान झण्डै ८० लाख भए पनि करिब ५७ लाख रुपैयाँमा पर्खाल र प्रवेशद्धार बन्यो। सहयोग रकम बढ्दै गयो। पोखरामै रहेका विभिन्न संघरसंस्था तथा व्यक्तिहरुले पनि सहयोग दिए । पोखराबाट मात्रै २ सय ५ वटा संघरसंस्था तथा व्यक्तिबाट ४८ लाख ८१ हजार ७ सय ३५ रुपैयाँ संकलन भयो। विदेशबाट ५३ लाख ३६ हजार तथा नेपालबाट ४९ हजार ५५ हजार ८ सय ५२ रुपैयाँ गरी जम्मा १ करोड २९ लाख ९१ हजार ८ सय ८१ रुपैयाँ जम्मा हुनपुग्यो ।
हौसिएको पर्खाल निर्माण समितिले पोखरा रंगशालामा १५ लाख ४८ हजारको लागतमा मर्निङ वाक ट्रयाक, ६६ हजारको लागतमा वृक्षारोपण, १२ लाख ३१ हजारको लागतमा खानेपानी बोरिङ तथा दानवीरहरुको योगदान स्मरणीय बनाउन ४ लाख ९० हजारको लागतमा शिलालेखसहित डोनर्स पार्कको निर्माण पनि ग¥यो । त्यसो त, यो अभियानमा सरकारी सहयोग नभएकै चाहिँ हैन । राष्ट्रिय खेलकुद परिषदले वार्षिक ५ लाख बजेट दिने भनेपनि २ पटकपछि बजेट आउन छाड्यो । तत्कालीन पोखरा उपमहानगरपालिकाबाट १० लाख रुपैयाँ लिन भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरुले जुत्ताका तलुवा नै फटाउनुप¥यो । अहिले रंगशाला साँडे २ फिटको जगमा उभिएको ९.५ फिट उचाई तथा २.५ फिट उचाईको काँडेतारले घेरिएको छ। रङ्गशालामा ५ वटा गेट रहेका छन् भने भूतपूर्व खेलाडी मञ्चले रङ्गशालाको उत्तरतिर पनि तार जाली लगाइदिएको छ । रङ्गशाला सुरक्षित छ, तर भित्रका संरचना भने अझै बन्न सकेका छैनन्। भएको एउटा प्याराफिट भत्काइएको छ। केही संरचना बन्दै गरे पनि रङ्गशाला अझै वास्तवमा रङ्गशाला बन्न भने सकेको छैन ।
‘यो पैसा भएर सुरु गरिएको परियोजना थिएन, तर हामीले सुरु गरेको असल कामलाई देशरविदेशबाट सहयोग भयो’, त्यो बेला यो अभियानमा सक्रियातापूर्वक लागेका तत्कालीन खेलकुद परिषदका सदस्य जयराम हमालले भने, ‘राम्रो काम गर्न खोजे पैसाले रोकिनु पर्दैन।’
विदेशमा बसेर यत्रो सहयोग किन त ! पर्खाल निर्माण उपसमिति युकेका संयोजकले २०६६ सालताका निर्माण सकिँदा भनेका थिए, ‘त्यो बेला देशमा प्रतिकूल अवस्था थियो, त्यस्तो प्रतिकूलतामा पनि सहयोगको हात फैलाउँदा सचेत नागरिक भएको नाताले चुपचाप बस्न नसकिँदो रहेछ, पोखरा रंगशाला यसकै उदाहरण हो ।’




