बागलुङ,१० बैशाख – नेताहरुले नेकपाको स्थापना दिवश मनाउँदै गर्दा जनयुद्दमा सर्वस्व गुमाएका अमृत घर्तीले गाउँमा कुटो कोदालोमै बिताए । केन्द्रमा सबैले मनाएपनि मजदुर र किसान वर्गमा दिवशको रन्को नआएको उनले प्रतिक्रिया दिए । कम्प्युनिष्टको नाउँमा युद्द लडेका र आन्दोलन गरेकाहरु पैसा कमाउने धन्दामा लागेको र वैचारिक रुपमा स्खलन भएको उनको आरोप छ । ‘बिचारमा बिचलन आएपछि सबैले कमाउने र भ्रष्टाचार गर्नमा लागे’ घर्तीले भने, ‘बर्ग संघर्षबाट मात्र अवको राजनीतिमा सुधार आउन सक्छ, त्यसको नेतृत्व सर्वाहारा बर्गले गर्नुपर्छ ।’ बैद्य समूहको नजिक रहेका घर्ती सर्वाहारा बर्गको संघर्षबाट बिभेदको अन्त्य गर्न सकिने र त्यसले वास्तविक कम्प्युनिष्ट पार्टी बन्ने दावी समेत गर्छन् । हाल नाम राखेका कम्प्युनिष्ट पार्टीलाई उनले पूजिवादीको संज्ञा दिए ।
२००६ सालमा स्थापना भएको नेपाल कम्प्युनिष्ट पार्टीबाट २०१८ सालको अधिवेसनबाट पार्टी फुटको राजनीतिक शुरु भएको थियो । २०२८ सालमा मोहन विक्रम सिंहले मसाल पार्टी बनाएका थिए । त्यस्तै २०३५ सालमा माले र झापाली समूहहरुको कम्प्युनिष्टले नेपालको राजनीतिमा तरंग ल्याएको थियो । २०४१ सालमा निर्मल लामा समूह, २०४३ सालमा पुष्पकमल दाहालहरु फुट्दै गएपछि मसाल भने सानो दलको रुपमा पछि परेको छ । २०४६ सालको आन्दोलनका लागि कांग्रेस नेता गणेशमान ंिसहको नेतृत्वमा आन्दोलन गर्न बाम मोर्चा बनेको थियो । सहाना प्रधान, सिपि मैनाली लगायतका नेताहरुको नेतृत्वले आन्दोलन सफल पारेपछि २०४७ सालमा एमाले बनेको थियो । २०७४ को निर्वाचनमा पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग मिलेर निर्वाचन लडेपछिको बहुमत थेग्न गठित नेकपाको केन्द्रीय र जिल्ला तहको एकताले अन्तिम रुप लिएको छ । यो एकतापछि देशकै ठूलो कम्प्युनिष्ट पार्टी बनेको छ । नेकपाले भने एशियाकै दोश्रो ठूलो दल भएको दावी गरेको छ । स्थापना दिवश मनाउने क्रममा भने नेकपाले ठूला कार्यक्रमहरु गर्न सकेनन् । लामो समय देखिको नेतृत्व बिहिनताको अवस्थाले क्रियाकलापमा असर परेको कार्यकर्ताको बुझाइ छ । केन्द्रीय रुपमा भएका कार्यक्रममा नेताहरुले सहभागिता जनाएर स्थापना दिवशको झल्को मेटाएका छन् ।





