बागलुङ,१२ बैशाख – गलकोट नगरपालिका ४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । गलकोट र आसपासका क्षेत्रबाट दैनिक जसो युवायुवती निलुवा पुग्ने गरेका छन ।पदयात्रा, वनभोज, दृश्य छायाङ्कन, अवलोकन भ्रमण तथा ‘क्याम्पिङ’का लागि आन्तरिक पर्यटक निलुवा पुग्ने गरेका छन् ।
पर्यटनको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ । निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रको अगुवाइमा निलुवाको पर्यटन विकास थालिएको हो । पदमार्ग निर्माण, सम्पदा संरक्षण, प्रचारप्रसारलगायत प्रवद्र्धनात्मक काम केन्द्रले गरिरहेको छ । निलुवा लेक यसअघि किसानको गोठथरीमा मात्र सीमित थियो ।
मनोरम प्राकृतिक दृश्यावलोकनका लागि निलुवा उत्कृष्ट गन्तव्य बन्दै गएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताए । “यहाँको भू–बनोट, हावापानी लोभलाग्दो छ”, उनले भने, “नजिकै हिमाल देख्न सकिन्छ, पदयात्राको मज्जा पनि लिन सकिन्छ ।”निलुवाबाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छे हिम शृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ किसानका ८० भन्दा बढी खरका परम्परागत गोठले पनि पर्यकटलाई लोभ्याउने गरेको छ ।
हिजोआज वस्तुभाउ पाल्न र खेतीका लागि किसान आउन छोडेपछि गोठ भने रित्तै छन् । किसानको पुरानो जीवनशैली झल्काउने गोठ संरक्षण गर्न केन्द्रले पहल गरिरहेको छ । घना जंगलको बीचमा उपत्यका बनेर बसेको निलुवा लेक दुई हजार ५०० मिटरको उचाइमा पर्छ । निलुवामा पर्यटनमैत्री पूर्वाधारको अभाव छ । खाना, आवास, खानेपानीजस्ता आधारभूत सुविधा पुर्याउन बाँकी नै छ । केही दूरीमा पदमार्ग बने पनि थप विस्तारको काम गर्नुपर्ने देखिन्छ । वडा नं ४ का अध्यक्ष बलबहादुर खत्री पर्यटन प्रवद्र्धनको काम भर्खर शुरु भएको बताउँछन् । “निलुवालाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर लागेका छौँ”, उनले भने, “धेरै काम गर्न बाँकी छ ।” पर्यटन प्रवद्र्धनका लागि गत शनिबार मह शिकार हनी हन्टिङ महोत्सवसमेत आयोजना गरिएको थियो । लेकाली हावापानीमा अवस्थित निलुवा लेक पुग्न बागलुङ सदरमुकामबाट ४५ किलोमिटर गाडीको यात्रा गर्नुपर्छ । मध्यपहाडी लोकमार्गको डाँडाखेतबाट निलुवा पुग्न दुई घण्टा उकालोमा पदयात्रासमेत गर्न सकिन्छ ।





