पोखरा, १३ वैशाख – पोखरामा शुक्रबार हिजो र आजको गण्डकी प्रदेश झल्काउने तस्वीरहरु प्रदर्शनमा राखिए । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार महासंघ गण्डकीले ती तस्वीर प्रदर्शनमा राखेको हो ।
‘आजको अनिवार्यता,सशक्त, व्यावसायिक फोटो पत्रकारिता भन्ने नारालाई सार्थक बनाउन आयोजित प्रदर्शनीमा ५० वटा तस्वीरहरु राखिएका थिए । सडकपेटीमा यो प्रदेशका सबै जिल्लाका फोटाहरु समेटिएका थिए । माछापुच्छ«े, अन्नपूर्ण, मुस्ताङ, मनाङ, पोखरा, लमजुङ लगायतका पर्यटकीय स्थलका फोटाहरु प्रदर्शनीको आकर्षण रहे । फोटो पत्रकार कृष्णमणि बराल, राम गुरुङ, अशेष शाक्य, प्रदीप पौडल, ईन्द्र पौडेल, उमेश पुन, नारायण आचार्य, दुर्गा पौडेल, सञ्जय श्रेष्ठ, सुरज श्रेष्ठ, ओम लामा, सागरराज तिमिल्सिना, दीपक परियार लगायत १४ जनाले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएको नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले बताए ।
तालबाराही मन्दिर दर्शन गर्न आउनेहरु गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरुको तस्वीर देखेर खुसी मानेका थिए । प्रदर्शनीमा राखिएका फोटोमध्ये उपल्लो मुस्ताङ, मनाङ, पोखराको हेमजा, फेवाताल, सूर्योदय, सराङकोट, भेँडाबारीको फोटोमा धेरैको आँखा गडेको थियो । सो प्रदर्शनी करिब ८ हजार जनाले हेरेको नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले बताए ।
गोरखापत्रमा पहिलो पटक फोटो छापिएको दिनलाई नै नेपालमा राष्ट्रिय फोटो पत्रकारीता दिवस मनाउने गरिएको छ । प्रदर्शनीको सञ्चारउद्यमी रामेश्वर खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आले, पोखराका पुराना फोटो पत्रकार विश्व शाक्य, नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया लगायतले संयुक्त उद्घाटन गरेका थिए । प्रदर्शनीलाई नेपाल पर्यटन बोर्डले सघाएको थियो ।





