बागलुङ, १५ वैशाख – जिल्लाको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्नेगरी कालिगण्डकी नदिमाथी निर्माण भैरहेको बञ्जी जम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रको लगानीमा निर्माण भैरहेको पुल सहितको बञ्जी जम्पको ८० प्रतिशत काम सकिएको निर्माण कम्पनी ‘द क्लिफ’ प्रा.लिले जनाएको छ । आगामि साउन महिना सम्ममा सञ्चालनमा ल्याउने गरी काम भैरहेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
पुल सहितको बञ्जी जम्प र बागलुङको बलेवा क्षेत्रमा रिसोर्ट निर्माणको काम समेत भैरहेको छ । १६ करोड रुपैयाँ लगानी गरेर बञ्जी जम्प र रिसोट सञ्चालनमा ल्याउन लागिएको कार्कीले सुनाए । कालीगण्डकी नदिको सतहदेखी बञ्जी जम्पको उचाई २ सय २८ मिटर रहेको छ । यसको लम्बाई ५ सय २० मिटर रहेको र यो विश्वकै तेस्रो अग्लो बञ्जी जम्प भएको कार्कीले दावी गरे ।
हालसम्म विश्वमा बनेका बञ्जी जम्पमध्ये चीनले सन् २०१८ मा बनाएको बञ्जी जम्प विश्वकै सबैभन्दा बढी उचाई भएको बञ्जी जम्प मानिन्छ । सिसाको पुलसहितको त्यस बञ्जी जम्पको उचाई २ सय ६० मिटर अर्थात् ८ सय ५३ फिट रहेको छ ।





