बागलुङ, १७ वैशाख – संघियताको कार्यान्वयन सँगै बनेका तीन तहका सरकारका बिचमा समन्वय नहुँदा कतिपय बिकास निर्माणका काममा प्रभाव पर्नै थालेको छ । केन्द्र सरकार र प्रदेश सरकारले स्थानिय सरकार सँग समन्वयनै नगरी आफ्ना कृयाकलाप सञ्चालन गरेका कारण स्थानिय सरकारले गर्ने काम कारवाहीहरु प्रभावित हुन थालेका हुन् । केन्द्र र प्रदेश सरकारले काम गरिरहेका योजनाको बिषयमा स्थानिय सरकारसँग समन्वय नहुँदा कामहरुमा अन्यौलता सिर्जना हुने गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । ‘केन्द्रबाट परेका योजनाको बिषयमा हामीलाई जानकारीनै नगराई नाप जाँच र टेण्डरका कामहरु हुन्छन’ थापाले भने ‘उपल्लो तहका सरकारले कहाँ के काम गर्दै छन भन्ने बिषयमा जानकारी नहुँदा हामि आँफैले बनाएका योजना पनी प्रभावित हुने गरेका छन् ।’
समन्वयको अभावका कारण कतै दोहोरीएर योजना पर्ने र कतै आवश्यक ठाउँमा समेत काम गर्न नपाएको थापाले गुनासो गरे । थापाले असारे विकासका कारण रकम सकिने र काम नबन्ने प्रबृत्ति रहेको भन्दै त्यसलाई रोक्नुको विकल्प नभएको बताए । स्थानिय तहका योजनाको लागि सम्झौता र फरफारक मिति तोकेरै असारे बिकास कम गर्न लागिएको भएपनि केन्द्र र प्रदेश सरकारका योजना भने असारनै कुरेर बसेको उनको आरोप थियो । धौलागिरी संचार क्लबले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले गुणस्तरीय काम, आर्थिक पारदर्शीता र विकास अनुशासन कायम गर्न विकासास निमार्णको काम बैशाख मसान्तसम्म पुरा गर्ने बताए । उनले प्रत्येक वडालाई एक पहिचानको रुपमा विकास गर्नका लागि विभिन्न कदमहरु अगाडि बढाएको बताए । ‘गाँउपालिकाको विकासको लागि जनश्रमदानलाई जोड्न सुरु गरेका छौ’ उनले भने ‘बजेट मात्र खर्चेर विकास निमार्णको काम सम्भव छैन, गाँउपालिकालाई नमुना बनाउन अब जनसहभागिता पनि बढाउन जरुरी छ ।’
यस्तै काठेखोला गाँउपालिकामा रहेको प्रसिद्ध रामकोट मन्दिर ओझेलमा परेको हुँदा यसको प्रचारप्रसार गर्न सके पर्यटकको आगमनमा बृदि हुने अध्यक्ष थापाको भनाई थियो । उनले अवको बिकासमो मुख्य आधार पर्यटन भएको भन्दै पर्यटकीय क्षेत्रको बिकासका लागि पालिकाले पहल थाल्ने बताए । काठेखोलामा रहेको रामकोट प्रसस्त सम्भावना रहेको धार्मिक पर्यटकीय क्षेत्र भएपनि सुस्त व्यवस्थापन र प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनको गुनासो थियो । कार्यक्रम क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सकिएको थियो ।





