पोखरा, १७ बैशाख -दुबै मृगौलामा समस्या आई उपचार गरिरहेकी सरस्वती टिका माध्यमिक विद्यालय कक्षा सातकी छात्रा कल्पना पुनलाई विद्यालयका तर्फबाट आर्थिक सहयोग गरिएको छ । उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथा विद्यार्थीको सहयोगमा संकलित २८,००० रुपैयाँ सहयोग रकम आजै विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले र सहायक प्रधानाध्यापक श्रीधर आचार्यले पुन उपचारत गण्डकी अस्पतालमा नै पुगी उनका बुबा बीरबहादुरलाई हस्तान्तरण गरेका हुन् । १२ वर्षकै कलिलो उमेरमा कल्पनाका दुबै मृगौलामा समस्या आएपछि यतिखेर उनका बाबु बीरबहादुर यतिखेर ठूलो चिन्तामा छन् ।
म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट स्थायी बसेवास भई हाल पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरीबाट जीवन यापन गर्दै आएका बीरबहादुर र उहाँकी श्रीमती सीतालाई यतिखेर छोरीको उपचार कसरी गर्ने हो भन्ने चिन्ताले सताइरहेको छ ।
“छोरीको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ जति खर्च लागिसक्यो, यही पनि ऋण धन तथा आफन्तको सहयोगबाट गरेका हौं,” उनले भने, “खै डाक्टरले सम्पूर्ण उपचार गर्न अझै २५ लाख रुपैयाँ भन्दा बढी लाग्ने भनेका छन्, उपचार खर्च कसरी जुटाउने हो हामी निकै अन्यौलमा छौं ।”
डाक्टरले आफन्तबाट नै मृगौला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भनेको उनले सुनाए । अचानक स्वास्थ्यमा समस्या आए पछि पुन दम्पत्तिले कल्पनाको काठमाडौंस्थित किष्ट हस्पिटलमा झण्डै दुई महिना भर्ना गरेका थिए । उक्त क्रममा नै दुबै मगौला खराब भएको थाहा भएको थियो ।
सामान्य मजदुरी गर्दै आएको आँफूहरूको परिवारमा छोरीलाई अत्याधिक खर्चिलो रोगले च्यापे पछि रात दिन उपचारकै कुरालै पिरोलिरहेको उनले दुःखेशो सुनाए ।
असल मन भएकाहरूको सहयोग पाएमा आँफूलाई छोरीलाई बचाउन सकिने आशा रहेको बताउँदै बीरबहादुरले सहयोग दातालाई आफ्नो मोवाइल नं ९८२५१४२१२० मा सम्पर्क गरेर वा आफ्नै नाममा रहेको मुक्तिनाथ विकास बैंकको ००५२१६००३६५१९००००००१ नं खातामा सहयोग गरिदिन अनुरोध गरेका छन् ।
उनका दुई दिदी र एक भाई पनि सोही विद्यालयमा नै पढ्छन् । उनको पोखरास्थित गण्डकी हस्पिटलको मेडिकल वार्डको ४ नं बेडमा उपचार भैरहेको छ ।





